Sun. May 19th, 2024

सिन्धुलीमा जङ्गली हात्तीले २८ वटा घर भत्कायो

काठमाण्डौं, २०७८ पुस ७ गते बुधबार । सिन्धुली जिल्लाको दुधौली नगरपालिका-११, डुडेगैरीमा सोमबार राति जङ्गली हात्तीले थप चारवटा घर भत्काएको छ । यो सहित उक्त वडामा छ दिनभित्र जङ्गली हात्तीले २८ वटा घर भत्काइसकेको स्थानीयले जनाएका छन् । वडा नं. ११ का वडाध्यक्ष कुमार लामाका अनुसार सोमबार राति तीनवटा जङ्गली हात्तीले डुडेगैरीको मुसहर समुदायका चारवटा  घर भत्काउनुका साथै अन्न र फलफूलसमेत नष्ट गरे ।

स्थानीय बुधेश्वर सदा, गोले सदा, कतरिया सदा र लक्ष्मी सदाको घर भत्काएको वडाध्यक्ष लामाले जानकारी दिनुभयो । उहाँका अनुसार मध्य रातमा हात्ती बस्तीमा छिरेपछि स्थानीयको भागाभाग भएको थियो । योसमेत माथिल्लो पत्रिङ्गा र डुडेगैरीमा गरी हात्तीले आक्रमण गरी २८ घर भत्काएको छ । जङ्गली हात्तीले घर भत्काएपछि पीडित परिवारको विचल्ली भएको छ ।

यसअघि सुरुमा घर भत्काएका १८ परिवारलाई शनिबार जिल्ला रेडक्रस शाखाले त्रिपाल, लत्ता कपडा, भाडा र दुधौली नगरपालिकाले खाद्यान्न सहयोग गरेको वडाध्यक्ष लामाले सुनाउनुभयो । स्थानीयका अनुसार बाँकी पीडित परिवार छिमेकीको घरमा शरण लिएका बसेका छन् । जङ्गली हात्ती नजिकैको जङ्गलमा रहेकाले अहिले पनि स्थानीयवासी त्रासमा रातभर जाग्राम बसेका छन् ।

जङ्गली हात्तीबाट पीडित बुधेश्वर सदा स्थानीयवासी एक ठाउँमा जम्मा भएर रातभरि धुनी तापेर बस्ने गरेको बताउनुहुन्छ । हात्तीको समूहले बस्तीमा पसेर घर भत्काउनुका साथै भण्डारण गरी राखेको धानलगायत अन्नबाली नष्ट गरेको उहाँले बताउनुभयो ।

‘हात्तीका कारण राम्रोसँग सुत्नसमेत पाइएको छैन,’ उहाँले भन्नुभयो, ‘बिहानीपख हात्ती जङ्गल पस्ने र राति बस्तीमा आई घर भत्काउनुका साथै अन्नबाली खाएर आतङ्कित पार्दै आएको छ ।’ विशेष गरी हात्तीले रातको समयमा दुःख दिने गरेकाले निद्रा माया मारेर रातभर जाग्राम बस्न बाध्य भएकोे स्थानीयवासीको भनाइ छ । हात्ती बस्तीमा आएपछि स्थानीयले थाल ठटाएर र धुनी बालेर हात्तीलाई धपाउने गरेका छन् ।

स्थानीयका अनुसार हात्तीले कृष्ण कुमार, रानीवती धामी, पदमबहादुर परियार, इनर धामी, नथुनी धामी, दीपक परियार, टेकबहादुर दमाई, टङ्के दमाई र मेघबहादुर परियारलगायतको घर तथा अन्नबालीमा क्षति पुर्याएको छ । हात्तीले घरको बार भत्काउनुका साथै ढुकुटीमा राखेको धान, मकै सबै सखाप पारेको छ । हात्तीको आक्रमणबाट अहिलेसम्म कुनै मानवीय क्षति नभएको स्थानीयले बताएका छन् ।

दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउत दिनहुँ हात्तीले घर भत्काएपछि स्थानीयमा त्रास छाएको बताउनुहुन्छ । डिभिजन वन कार्यालयलाई हात्तीको वासस्थानतर्फ धपाउनका लागि पहल गर्न अनुरोध गरिएको उहाँको भनाइ छ । दुधौली नगरपालिकामा बर्सेनि हात्तीले आतङ्क मच्चाउँदै आएको छ ।

डिभिजन वन कार्यालय सिन्धुलीले पर्सा राष्ट्रिय निकुञ्जबाट कोसीटप्पु राष्ट्रिय निकुञ्जमा बसाइ जाने क्रममा ती हात्ती आएको जनाएको छ । कार्यालय प्रमुख थिरबहादुर कार्कीले भन्नुभयो, ‘पर्सा राष्ट्रिय निकुञ्जबाट कोसीटप्पु राष्ट्रिय निकुञ्जमा हात्तीहरू वर्षमा एकदेखि दुई पटक बसाइँ सर्छन् । यसरी बसाइँ सर्दा उनीहरूले पुस्तौँदेखि प्रयोग गर्दै आएको आफ्नै बाटो प्रयोग गर्छन् । सोही क्रममा ती हात्ती दुधौलीमा देखा परेका हुन् ।’ गोरखापत्र अनलाईन

Facebook Comments