Tue. May 7th, 2024

निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजना समयमै पूरा हुने

काठमाण्डौं, २०७८ पुस ७ गते बुधबार । निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको झन्डै आधा काम सकिएको छ । अहिलेसम्म ४५ प्रतिशत सकिएको र २४सै घण्टा काम सुचारु भएकाले निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न हुने निर्माण कम्पनी सतलज जलविद्युत् निगमले जनाएको छ ।

यो योजना वि.सं. २०८० भित्र सम्पन्न भइसक्नुपर्नेछ । २०७५ वैशाख २८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले काठमाडौँबाट संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो । जम्मा ११.८ किलोमिटर सुरुङमध्ये ६.९ किलोमिटर खनिसकिएको छ । सुरुङभित्र प्लास्टर गरेर पाइपजस्तो बनाइने छ । उक्त कार्य पनि सुरु भई हाल ७० मिटर प्लास्टर भइसकेको छ । मकालु गाउँपालिका-५ को फ्याँक्सिन्दा दोभानमा बन्ने बाँध निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ ।

जम्मा २५.४२ लाख घनमिटर खाल्डो खन्नुपर्नेमा हालसम्म २१.७० लाख घनमिटर खाल्डो खनिसकिएको अरुण तेस्रोका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिनुभयो । उहाँले बाँधबाट पावरहाउसतर्फ पानी पठाउने २३१ मिटरको निकास सुरुङसमेत निर्माण सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

उता विद्युत् उत्पादन गृह चिचिला गाउँपालिका-३, पुखुवामा पनि पूूर्वाधार निर्माणको काम धमाधाम भइरहेको छ । विद्युत् उत्पादक कम्पनी सतलजका अनुसार विद्युत् उत्पादनको सम्पूूर्ण संरचना सुरुङभित्र नै बन्ने छ । जसका लागि एक लाख ५८ घनमिटर क्षेत्रफलको फराकिलो सुरुङ खन्नुपर्ने छ । त्यसमध्ये हालसम्म एक लाख २८ हजार घनमिटर खन्ने काम सम्पन्न भइसकेको अरुण तेस्रोका डिपुटी मेनेजर रमेशचन्द्र सुलेरियाले जानकारी दिनुभयो । त्यसबाहेक ५६ हजार आठ सय घनमिटरको ट्रान्समिटर राख्ने सुरुङसमेत निर्माण भइसकेको सुलेरियाले जानकारी दिनुभयो ।

आयोजनाबाट उत्पादित विद्युत् सतलजले आफ्नै प्रसारण लाइनमार्फत महोत्तरीको बथाना हुँदै भारत निर्यात गर्नेछ । प्रसारण लाइनका लागि विद्युत् उत्पादन गृहबाट भोजपुर, खोटाङ, उदयपुर, सिराहा हुँदै महोत्तरी पुर्याईने छ । हालसम्म प्रसारण लाइनका लागि १५० वटा तार तान्न टावर निर्माण भइसकेको छ भने ११४ वटा टावरका लागि जग खन्ने कार्य सम्पन्न भइसकेको डेपुटी म्यानेजर सुलेरियाले बताउनुभयो ।

अरुण तेस्रो परियोजनामा दुई कम्पनीले ठेक्का लिएर निर्माणको काम गरिरहेका छन् । चिचिला गाउँपालिकाको पुखुवास्थित पावरहाउस निर्माण क्षेत्रमा पटेल इन्जिनियरिङ कम्पनीले काम गरिरहेको छ । बाँध निर्माण क्षेत्र मकालु गाउँपालिकाको फ्याँक्सिन्दा दोभानमा जयप्रकाश एसोसिएटस्ले निर्माणको काम गरिरहेको छ । दुई कम्पनी र आयोजना विकास कम्पनी सतजल गरी हाल दुुई हजार ४७५ जनाले निरन्तर काम गरिरहेका छन् । गोरखापत्र अनलाईन

Facebook Comments