Sat. Apr 20th, 2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक यात्रुको संख्या वृद्धि

काठमाडौं, २०७६ पुष १७ गते बिहीबार ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई यात्रु घटे पनि आन्तरिक भने बढेका छन्। विमानस्थलले सन् २०१९ को नोभेम्बर महिनासम्ममा अन्तर्राष्ट्रियतर्फ ३७ लाख ६७ हजार ९१३ यात्रुलाई सेवा दिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रुको चाप वृद्धि अनुपात हेर्दा विमानस्थलबाट डिसेम्बरसम्म ४१ लाख हवाई यात्रुले सेवा लिने देखिएको कारोबार अनलाइनले लेखेको छ।

आन्तरिकतर्फ अक्टोबरसम्म २७ लाख ३७ हजार १७२ यात्रु विमानस्थलले ह्यान्डल गरेकोमा डिसेम्बरसम्म ३३ लाख पुग्ने अनुमान गरिएको छ।

सन् २०१७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानतर्फ कुल ३८ लाख ८७ हजार ८४५ यात्रु रहेकोमा २०१८ मा यो संख्या ११.७ प्रतिशतले वृद्धि भइ ४३ लाख ४२ हजार ४८६ पुगेको थियो। आन्तरिक उडानतर्फ भने सन् २०१७ मा २४ लाख ५१ हजार ३९० यात्रु आवागमन भएकोमा २०१८ मा १६.१६ प्रतिशतले वृद्धि भइ २८ लाख ४७ हजार ७५२ पुगेको थियो। यसरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा कुल हवाई यात्रु १३.४२ प्रतिशतले वृद्धि भइ जम्मा ७१ लाख ९० हजार २३८ पुगेको जनाइएको छ।

प्राधिकरणको २१ औं वार्षिकोत्सव समाहरोलाई सम्बोधन गर्दै महानिर्देशक राजन पोखरेलले भन्नुभयो, “यात्रु घट्नुमा अन्तर्राष्ट्रिय उडानमा हवाई यात्रु घट्नुको पछाडि नेपालमा उडानरत केही ठूला वायुसेवा कम्पनीको उडान बन्द हुनु, मलेशियाको रोजगारीमा समस्या देखिनु र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्ग तथा ट्याक्सीमार्ग मर्मत सम्भारका कारण सञ्चालन समय प्रभावित हुनुलाई कारण मान्न सकिन्छ।”

यस वर्ष नेपाल एयरलाइन्सले जापानको ओसाकामा नियमित उडान प्रारम्भ गरेको छ भने हिमालय एयरलाइन्सले बंगलादेशको ढाका र चीनको बेइजिङमा नियमित उडान प्रारम्भ गरेको छ। विदेशी वायुसेवामा कुवेतको जजिरा एयरले कुवेत काठमाडौं हवाई सेवा सञ्चालन गरेको छ। भारतको भिस्ताराले काठमाडौं र नयाँदिल्लीवीच जनवरी १५ देखि उडान गर्दैछ। भारतकै इण्डिगो एयरले नयाँदिल्ली र काठमाडौंबीच दैनिक १ उडान गर्दै आएकोमा अहिले ३ उडान थप गरी दैनिक ४ उडान गरिरहेको महानिर्देशक पोखरेलले बताउनुभयो।

प्राधिकरणका अनुसार मुलुकभित्र विमानस्थलको कुल संख्या ५५ पुगेको छ। जसमध्ये ओखलढुंगाको खिजि चन्डेश्वरी विमानस्थलको निर्माण कार्य सम्पन्न भइ गतासाता परीक्षण उडान सम्पन्न भएको छ।

कार्यक्रममा प्राधिकरणका कर्मचारीले हालै सरकारले ल्याउन लागेको प्राधिकरण टुक्र्याउने विधेयक ल्याए हवाइ सेवासमेत बन्द गर्ने चेतावनी दिई रहेका बेला मन्त्री योगेश भट्टराईले भने विधेयक नरोकिने स्पष्ट पार्नु भएको छ। मंगलबार नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले संघीय संसद आकाशबाट आएको नभएर जनताको अभिमतले आएको भन्दै सरकारले संसदलाई विश्वस्त पार्न सके कुनै पनि हालतमा नरोकिने बताउनुभयो।

उहाँले त्यसका लागि सबै कर्मचारीले सहयोग गर्नुपर्ने पनि बताउनुभयो। गत साउनमा मन्त्रिपरिषद्ले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन र नेपाल हवाई प्राधिकरण ऐन गरी दुई छुट्टाछुट्टै ऐन ल्याउन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको थियो। यसै अनुसार नागरिक उड्डयान प्राधिकरणलाई सेवा प्रदायक र नियमनकारी निकायका रूपमा छुट्याउने गरी ऐनको मस्यौदा मन्त्रिपरिष्दमा पेश गरेको छ। तर, कर्मचारीहरूले उक्त विधेयक छलफल नै नगरी ल्याएको भन्दै कालो पट्टी बाध्ने, महानिर्देशकको कार्यकक्ष घेराउ गर्ने देखि हवाइ सेवा बन्द गर्ने समेतका आन्दोलनका कार्यक्रम घोषण गरेका थिए।

मन्त्री भट्टराईले पर्यटकीय क्षेत्रलाई विस्तार गर्न १० वर्षे अवधारणा ल्याउने तयारी गरेको बताउनु भएको छ। मंगलबार नेपाल पर्यटन बोर्डको २१ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पर्यटन क्षेत्रलाई व्यापक बनाउन २०३० को अवधारणा ल्याउन लागेको बताउनु भएको हो। उहाँले राजनितिक संघर्ष, आन्दोलन र विभिन्न प्रकारको छलफलपछि देश स्थायित्वतिर गएको भन्दै २०३० को अवधारणा पछि पर्यटकिय क्षेत्रबाट रोजगारी सिर्जना हुने बताउनुभयो।

Facebook Comments