दमास्कसस्थित कतारी दूतावासबाट सेवा पुनः शुरू गरियो
दमास्कस, २०८१ पुस ७ गते आइतबार । सिरियाको गृहयुद्धको सुरुमा बन्द भएको दमास्कसस्थित आफ्नो दूतावासबाट कतारले शनिबारदेखि पुनः सेवा शुरू गरेको छ ।
कतारले आफ्नो दताबासको कार्यालयमा झण्डोत्तलन गर्दै सेवालाई पुनः शुरू गरेको हो । इस्लामिक नेतृत्वको विद्रोहीहरूले राष्ट्रपति बशर अल असदलाई यसै महिनाको सुरुमा सत्ताबाट हटाएपछि औपचारिक रूपमा आफ्नो दूतावास खोल्ने कतार दोस्रो राष्ट्र बनेको छ । टर्कीएले आफ्नो दूताबासलाई यसअघि नै पुनः सञ्चालनमा ल्याएको थियो ।
एएफपीका अनुसार सिरियाको गृहयुद्धका बेला विपक्षी समूहलाई समर्थन गरेको कतारले अन्य अरब सरकारहरू जस्तै असदलाई सत्ताच्युत गर्नुअघि दूताबास पुनः स्थापना गर्ने प्रयास गरेको थिएन ।
दोहाले सङ्क्रमणकालीन सरकारसँग भेट गर्न केही दिनअघि कूटनीतिक प्रतिनिधिमण्डल दमास्कस पठाएको थियो । उक्त अभियानले सिरियाली जनतालाई सहयोग गर्न दोहाको पूर्ण प्रतिबद्धता व्यक्त गरेको कतारका एक कूटनीतिज्ञले एएफपीलाई बताउनुभयो ।
गत मङ्गलबार युरोपेली सङ्घले दमास्कसमा रहेको आफ्नो कुटनीतिक नियोग पुनः खोल्न तयार रहेको बताएको थियो भने बेलायत, फ्रान्स र संयुक्त राज्य अमेरिकाले असदलाई सत्ताच्युत गरेपछि सिरियाली राजधानीमा प्रतिनिधिमण्डल पठाएका छन्।
सिरियाका लागि फ्रान्सका विशेष दूतले ‘सुरक्षा मापदण्ड पूरा नगरेसम्म’ मिसन बन्द रहने बताउनुभए पनि मङ्गलबार दमास्कसस्थित पेरिसको दूतावासमा फ्रान्सको झण्डा फहराइएको थियो ।
यसैबीच, संयुक्त राज्य अमेरिकाले लामो समयदेखि सिरियामा शासन गर्दै आएका असदलाई सत्ताच्युत गर्ने नेतृत्व गर्ने हयात तहरीर अल–शाम इस्लामिक विद्रोही समूहका प्रमुख अहमद अल–शरालाई जीवित वा मृत् अवस्थामा ल्याउने जोकोहीलाई दिने वर्षौंअघि जारी गरेको एक करोड अमेरिकी डलरको इनाम शुक्रबार फिर्ता लिएको छ ।
एचटीएसको उत्पत्ति अल–कायदाबाट भएको भएपनि हालैका वर्षहरूमा यसले आफ्नो छविलाई नरम बनाउने प्रयास गरेको छ ।