Fri. May 3rd, 2024

ह्वात्तै जाडो बढ्योे, वर्षासँगै ठाउँठाउँमा हिमपात

काठमाडौं, २०७६ पुष १८ गते शुक्रबार ।

देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ । आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघिको हिउँदे वर्षासँगैको हिमपातले बढ्दै गएको चिसो आउँदो एक हप्ता उच्च दरमा रहने अनुमान महाशाखाले गरेको छ । मौसमविद् गङ्गा नगरकोटीले भन्नुभयो, “अहिले नेपाल प्रवेश गरेको पश्चिमी वायुले यो वर्षा गराएको हो, बिहीबार दिउँसैदेखि पहाडी भेगमा वर्षा भइरहेको छ ।” काठमाडौँ लगायतका स्थानमा भने अपराह्नदेखि मेघगर्जनसहित हल्का वर्षा भएको छ । बिहीबार काठमाडौँ उपत्यकामा हल्का पानी पर्ने र केही बेर घाम लाग्ने क्रम पनि जारी रह्यो ।

नगरकोटीका अनुसार वर्षाले उपत्यकाको चिसो बढाउनुका साथै वरिपरिका पहाडमा हिमपात गराउने सम्भावना छ । हिमपातको विशेष असर भने प्रदेश ६ र ७ को उच्च हिमाली भेगमा बढी परेको छ ।

गोरखापत्र अनलाईनका अनुसार अधिकांश पहाडी भेगमा पानी पर्ने भएकाले वायुको सापेक्षित आद्रतामा चिस्यान बढ्दा जाडोले जनजीवन प्रभावित हुने नगरकोटीले बताउनुभयो । यसअघिको वर्षाले न्यूनतम तापक्रम घट्ने क्रममा असर पुर्याएको थियो । जसका कारण काठमाडौँको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियससम्म पुगेको थियो । यसपटकको वर्षाले भने अधिकतम तापक्रम घटाएर जाडो बढाउने नगरकोटीले बताउनुभयो ।

वर्षाको क्रममा काठमाडौँमा बिहीबार राति ३ देखि ५ डिग्री सेल्सियसको न्यूनतम तापक्रम रहने अनुमान गरिएको छ । सो क्रममा ३० प्रतिशत पानी यस भेगमा पर्नेछ । त्यस्तै दिपायलमा २ देखि ४ डिग्री सेल्सियस न्यूनतम तापक्रम रहँदै ६० प्रतिशत पानी पर्ने अनुमान गरिएको छ । वीरेन्द्रनगर, पोखरा र धनकुटामा ३० देखि ४० प्रतिशत पानी पर्ने सम्भावना छ । यस भेगमा न्यूनतम ३ देखि ८ डिग्री सेल्सियस आसपास तापक्रम रहने अनुमान छ ।

पश्चिमी वायुको उच्च प्रभाव

भूमध्य सागरबाट उठेको जलवाष्पलाई पश्चिमी वायुले नेपाल भित्रियाएको हो । भूमध्य सागरसँगै जम्मुकश्मीर क्षेत्रबाट समेत पश्चिमी वायुले वर्षाको न्यूनचापीय कण बोकेर आइरहेको छ । हिउँदमा हुने पश्चिमी वायुको असरले परेको पानी पूर्वी नेपाल हुँदै सकिन्छ । मनसुनमा भित्रिने दक्षिण र पूर्वी वायुले भित्रियाउने वर्षा भने पश्चिम नेपाल हुँदै अन्त्य हुने गर्छ ।

यसपटकको पश्चिमी वायुको असर झन्डै एक हप्ता कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “छोटो छोटो वर्षा हुन्छ तर लगातार भइरहन्छ,” मौसमविद् नगरकोटीले थप्नुभयो, “आगामी तीन दिन मौसम खराब रहनेछ । त्यसपश्चात् एकाध दिन मौसम खुलेजस्तो भए पनि फेरि पश्चिमी वायुको प्रभावले थप वर्षा हुने सम्भावना छ ।”

हालको पश्चिमी वायुसहितको बलियो न्यूनचापीय प्रणाली नेपालमा सक्रिय रहेकै बेला भूमध्य सागरमा उत्पन्न भएको अर्को न्यूनचापीय प्रणाली नेपालतिर आउँदै गरेको उहाँले जानकारी दिनुभयो । त्यसैका कारण आकाशमा बादल लाग्ने र बदली भइरहने क्रम जारी रहनेछ ।
बिहीबार, शुक्रबार र शनिबार दिउँसो तथा राति देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले उल्लेख गरेको छ । उच्च पहाडी र हिमाली भेगमा भने लगातार हिमपात हुने जनाइएको छ ।

वायुको बहावलाई सामान्यतया गणना गर्दा नट मापनमा नापिन्छ । सो अनुसार काठमाडौँ उपत्यकामा हिउँदको समयमा ७ नटसम्म बहाव हुनेछ । यस क्षेत्रमा दस नटभन्दा माथि बहाव भएमा खतरा मानिन्छ । वायुको उच्च बहाव रहेमा पनि जाडो बढ्ने गर्छ । हिमाली भेगमा सामान्यतया २० देखि २५ नटसम्मको वायुको बहाव सामान्य मानिन्छ । हिमआँधि आउँदा भने त्यो बढेर ५० नटसम्म हुने सम्भावना रहन्छ ।

उच्च हिमाली क्षेत्रमा तापक्रम घट्दो

उच्च हिमाली भेगका लागि मौसम पूर्वानुमान महाशाखाले गरेको पूर्वानुमानअनुसार गएको २४ घण्टामा माइनस ५३ डिग्रीसम्म न्यूनतम तापक्रम पुगेको छ । महाशाखाले सार्वजनिक गरेको विश्लेषणअनुसार नौ हजार मिटर आसपासको पश्चिमी उच्च भूभागमा अत्यधिक चिसो रेकर्ड भएको हो । त्यस भेगमा वायुको बहाव ४५ नट रेकर्ड भएको छ ।

मध्य क्षेत्रको उच्च भूभागमा माइनस ५२ डिग्री तापक्रम रेकर्ड भएको छ । त्यस भेगमा उच्च रूपमा ५० नट वायुको बहाव रहेको छ । पूर्वी उच्च हिमाली भेगमा भने माइनस ५० डिग्री तापक्रम रेकर्ड भएको छ । यस क्षेत्रमा पनि ५० नट वायुको गति मापन गरिएको छ ।

तीन हजार मिटर उचाइ आसपासमा भने तीनवटै क्षेत्रमा माइनस ८ डिग्री तापक्रम विगत २४ घण्टामा रेकर्ड भएको छ । त्यस्तै ५५ सय मिटर आसपासका भूभागमा क्रमशः माइनस २३, २२ र १९ डिग्री तापक्रम रेकर्ड भएको छ । सात हजार मिटर क्षेत्रका पश्चिम, मध्य र पूर्वी उच्च भूभागमा क्रमशः माइनस ३७, ३५ र ३३ डिग्री चिसो तापक्रम रेकर्ड भएको छ ।

Facebook Comments