Tue. Apr 30th, 2024

अफगानिस्तानको मस्जिदमा आत्मघाती विस्फोट, कैयौँको मृत्यु

काठमाण्डौं, २०७८ असोज २९ गते शुक्रबार । अफगानिस्तानको कान्दहार शहरस्थित एउटा शिया मस्जिदमा शुक्रबारको साप्ताहिक प्रार्थनाका बेला तीनवटा विस्फोट हुँदा कम्तीमा ३७ जनाको ज्यान गएको छ भने ७० जनाभन्दा बढी घाइते भएका छन्।

बीबी फातिमा मस्जिदका झ्यालका सिसाहरू फुटेको र शवहरू भुइँमा असरल्ल परेका तस्वीरहरूमा देखिन्छ। आत्मघाती हमला गरिएको बीबीसीलाई भनिएको छ।

रोयटर्स समाचार संस्थाका अनुसार तीनजना हमलाकारीले आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले एक स्थानीय पत्रकारलाई बताएका छन्। एकजना आक्रमणकारीले मस्जिदको प्रवेशद्वारमा विस्फोट गराएका थिए भने दुई जनाले भित्र गराएका थिए।

शुक्रवार साप्ताहिक प्रार्थना हुने भएकोले मस्जिद पूरै भरिभराउ थियो। एएफपी समाचार संस्थाका एक पत्रकारका अनुसार विस्फोटपछि घटनास्थलमा कम्तीमा १५ वटा एम्बुलेन्स देखिएका थिए। तालिबानको विशेष फौजले घटनास्थलमा सुरक्षा दिइरहेको छ र मानिसहरूलाई रक्तदान गर्न आह्वान गरेको छ।

कान्दहार अफगानिस्तानको दोस्रो ठूलो शहर हो जुन तालिबानको आध्यात्मिक उद्गमस्थल हो। अतः तालिबानप्रति निकै शत्रुततापूर्ण व्यवहार भएकोले त्यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

गत शुक्रवार पनि साप्ताहिक प्रार्थनाकै बेला उत्तरी कुन्दुज शहरस्थित अर्को शिया मस्जिदमा विस्फोट हुँदा कम्तीमा ५० जनाको ज्यान गएको थियो। आक्रमणको आईएस-केले जिम्मेवारी लिएको थियो। उक्त हमला अमेरिकी सेनाले गत अगस्टमा अफगानिस्तान छोडयताकै सबैभन्दा घातक थियो। बीबीसी

Facebook Comments