Sat. May 18th, 2024

ब्रिटेनका पेट्रोल पम्पमा चाप कम गर्न सेना तयारी अवस्थामा

काठमाण्डौं, २०७८ असोज १२ गते मंगलबार । ब्रिटेनमा लामो लाइन र तेल अभावका कारण कैयौँ पेट्रोल पम्पहरू बन्द भएसँगै अवस्था सहज बनाउनका लागि सेनालाई तयारी अवस्थामा राखिएको छ।

सेनाका ट्याङ्कर चालकहरूलाई आवश्यक परेको अवस्थामा परिचालन गर्नका लागि तालिम दिइने सरकारले जनाएको छ।

यूकेका व्यापारमन्त्री क्वासी कोर्टनले यूकेसँग पर्याप्त आपूर्ति रहेको बताउँदै उक्त कदमलाई ”समझदारी र सावधानीको कदम”का रूपमा व्याख्या गरेका छन्।

तेल आपूर्तिकर्ताहरूले आगामी दिनहरूमा माग सामान्य हुने अपेक्षा गरेको बताएका छन्। तर मोटरीङ्ग ग्रुप आरएसीका अनुसार केही किराना व्यापारीहरूले अवस्थाको फाइदा उठाउँदै मूल्य बढाएका छन्।

मन्त्रीहरूले आवश्यकता नभएका मानिसहरूले समेत तेल खरिद गरेका कारण पम्पहरूमा लाइन देखिएको र ती रित्तिन पुगेको आरोप लगाएका छन्।

लरी चालकहरूको अभावका कारण पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुनसक्ने आशङ्काका कारण कैयौँ चालकहरू पेट्रोल पम्प पुगेका थिए।

सरकारले ट्याङ्कर चालकहरूको अभाव पूर्ति गर्नका लागि विदेशी एचजीभी चालकहरूका लागि तीनमहिने अस्थायी प्रवेशाज्ञा उपलब्ध गराउन सहमत भइसकेको छ।

बिपी र सेलजस्ता ठूला उत्पादकहरूले यूकेका रिफाइनरीहरूमा पर्याप्त मात्रामा इन्धन रहेको जनाएका छन्।

उनीहरू सहितका उत्पादकहरूको एउटा संयुक्त विज्ञप्तिमा भनिएको छ, ”धेरै कारहरूमा सामान्य अवस्थामा भन्दा धेरै तेल हालिएको अवस्थामा आगामी दिनहरूमा माग सामान्य अवस्थामा फर्कने अपेक्षा हामीले गरेका छौँ जसले पेट्रोल पम्पहरूमा चाप कम गर्ने छ।” बीबीसी

Facebook Comments