Sat. May 18th, 2024

क्रिस्टियानो रोनाल्डोद्वारा पोर्चुगलका लागि १११ गोल, फुटबलमा नयाँ विश्वकीर्तिमान कायम

काठमाण्डौं, २०७८ भदौं १७ गते बिहीबार । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय पुरुष फुटबलमा सर्वाधिक गोलको नयाँ कीर्तिमान बनाउनु भएको छ ।

विश्वकप फुटबलको छनोट चरणको खेलमा रिपब्लिक अफ आयरल्यान्डविरुद्ध उहाँले दुई गोल गर्दै आफ्नो गोल सङ्ख्या १११ पुर्याउनु भएको छ । उक्त खेलमा पोर्चुगल २(१ ले नाटकीय रूपमा विजयी भयो।

सर्वाधिक गोलकर्ताको कीर्तिमान भङ्ग गर्न तथा लगत्तै विस्तार गर्दा ३६ वर्षीय रोनाल्डोले खेलको अन्तिमतिर टाउकोबाट बल प्रहार गरेर दुई गोल गर्नुभएको थियो।

त्यसअघि उहाँले प्रहार गरेको पेनाल्टी आयरिश गोलरक्षक ग्याभिन बाजुनूले विफल पारिदिनु भएको थियो ।

इरानका लागि सन् १९९३ देखि २००६ सम्म १४९ खेलमा १०९ गोल गरेका अलि दाई यसअघि सर्वाधिक गोलकर्ता हुनुहुन्थ्यो ।

रोनाल्डोले यूरो २०२० मा फ्रान्सविरुद्ध दुई गोल गरेर उक्त कीर्तिमानसँग बराबरी गर्नुभएको थियो ।

म्यान्चेस्टर यूनाइटेडबाट क्लब फुटबल खेल्ने रोनाल्डो राष्ट्रिय टोलीका लागि १८० औँ खेलमा सहभागी भएर सेर्गियो रामोसको युरोपेली कीर्तिमानसँग पनि बराबरी गर्नुभएको छ ।

फिफाका अनुसार मलेशियाका सोह चिन आनले १९६९ देखि १९८४ सम्म १९५ खेल खेल्नु भएको थियो । त्यो नै अहिलेसम्मको विश्वकीर्तिमान हो। नब्बे वा सोभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने रोनाल्डो र दाई मात्र दुई पुरुष खेलाडी हुनुहुन्छ । रोनाल्डो पहिला रेयाल मड्रिडका लागि खेल्ने गर्नुहुन्थ्यो ।

उहाँले युरोपियन च्याम्पीअन्शिपको इतिहासमा सर्वाधिक १४ गोल र युरो तथा विश्वकपमा कुल २१ गोल गर्नुभएको छ ।

रोनाल्डोको गोल कहाँ अनि कति ?

  • विश्वकप छनोट खेल – ३३
  • युरोपियन च्याम्पीअन्शिप छनोट खेल – ३१
  • मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल – १९
  • युरोपियन च्याम्पीअन्शिप – १४
  • विश्वकप – ७
  • यूईएफए नेशन्स लीग – ५
  • कन्फेडरेशन्स कप – २
  • रोनाल्डोले गर्नुभएका कुल गोलमध्ये झन्डै आधाजति खेलको अन्तिम ३० मिनेटमा भएका छन्। उहाँले अन्तिम १५ मिनेटमा ३३ पटक गोल गर्नुभएको छ । रिपब्लिक अफ आयरल्यान्डविरुद्ध दुई गोल पनि सोही अवधिमा भएका थिए।

    त्यसैगरी खेलको ६१ औँदेखि ७५औँ मिनेटमा उहाँले २२ गोल गर्नुभएको छ । उहाँले १६ देखि ३० मिनेटको बीचमा १७ गोल, ३१ देखि ४५ मिनेटको बीचमा १६ गोल गर्नुभएको छ । खेलको पूर्वार्धमा १५ मिनेटभित्र ११ गोल र उत्तरार्धको १५ मिनेटभित्र १२ गर्नुभएको छ ।

    रोनाल्डोले ९१ पटक बक्सभित्रबाट र २० पटक बाहिरबाट गोल गर्नुभएको छ । उहाँले १४ पटक पेनाल्टी र नौ पटक फ्रीकिकबाट गोल गर्नुभएको छ ।

    उहाँले लिथ्यूएनीआ र स्वीडनविरुद्ध सात(सातवटा गोल गर्नुभएको छ । बीबीसी

Facebook Comments