Sat. May 18th, 2024

तीन मिनेट ढिलो पुग्दा स्वर्ण पदक खोसियो

- टोक्यो पाराओलिम्पिक्स

काठमाण्डौं, २०७८ भदौं १७ गते बिहीबार । अन्तर्राष्ट्रिय पाराओलिम्पिक्स कमिटी आईपीसीले एक मलेशियाली खेलाडीको स्वर्ण पदक खोस्ने आफ्नो निर्णयको प्रतिरक्षा गरेको छ।

शटपुट खेलाडी मोहम्मद जियाद जोल्केफ्लीले एफ २० श्रेणीमा स्वर्ण पदक जित्नु भयो। तर पछि उहाँ खेल स्थलमा तीन मिनेट ढिला पुगेको भन्दै उहाँलाई अयोग्य घोषणा गरियो।

आईपीसीले ढिलो पुग्दा उहाँले कारण देखाएकाले उहाँलाई प्रतिस्पर्धा गर्न दिइएको बताएको छ। तर खेलपछि निर्णायकले उहाँले ढिलो हुने “उचित कारण” नदिएको बताएका थिए।

आईपीसीको निर्णयपछि मलेशियालीहरू सामाजिक सञ्जालमा यसप्रति आक्रामक देखिएका छन्।

“अपमानजनक! ढिलो भएको भए खेलाडीलाई प्रतिस्पर्धा गर्नै दिनुहुन्न। जियादबाट मेहनतले विश्वकीर्तिमानसहित जितेको पदक खोस्नु हुन्न,” सांसद फाहिम फाद्जिलले लेख्नु भएको छ ।

मलेशियाका युवा तथा खेलकुदमन्त्री अहमद फाइजुल अजुमीले राष्ट्रिय खेलकुद परिषद्लाई यो विषयमा अनुसन्धान गर्न आदेश दिइएको बताउनु भएको छ । उहाँले जोल्केफ्लीबाट पदक खोस्ने निर्णयले निराश बनाएको बताउनु भयो।

सामाजिक सञ्जालमा ह्याशट्याग जियाद ट्रेन्डिङ हुन थालेको छ। धेरै जनाले रजत पदक जितेका तर पछि स्वर्ण पदक पाएका युक्रेनी खेलाडी मक्स्याम कोभलप्रति आक्रोश व्यक्त गरेका छन्।

मलेशियाली सञ्चारमाध्यमका अनुसार युक्रेनले जोल्केफ्ली ढिला आएको भन्दै उजुरी हालेको थियो। बीबीसी

Facebook Comments