Thu. May 16th, 2024

विज्ञहरु भन्छन् तत्काल कोरोना भाइरसको तेस्रो लहरको सम्भावना छैन

काठमाण्डौं, २०७८ साउन २६ गते मंगलबार । कोरोना संक्रमण दर बढीरहँदा तेस्रो लहरको चेतावनी सरकारले दिएसँगै मानिसमा त्रास पैदा भएको छ । दिनप्रतिदिन कोरोना संक्रमण दर बढ्दै जानु र कोरोना संक्रमितको मृत्यू हुने दर पनि नघट्नुले फेरि कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने संकेत रहेको भन्दै सरकारले नागरीकलाई सचेत गराउदै आएको छ ।

तर टेकु अस्पतालका सरुवा तथा संक्रामक रोग विशेषज्ञ डा.शेर बहादुर पुनले भने अहिले नै तेस्रो लहर आउँछ भनेर हतार गर्न नहुने बताउनुभएको छ । संक्रमण दर केहि बढ्ने वित्तिकै तेस्रो लहर आयो भनेर गलत प्रचार गर्न नहुने उहाँले बताउनुभयो । नेपालमा अहिले नै तेस्रो लहर नआउने उहाँको दावि छ । दोस्रो लहर निम्त्याउनमा भूमिका खेलेको डेल्टा भेरिएन्ट नै अहिलेसम्म कायम रहेकाले तेस्रो लहरको जोखिम अहिले नै नरहेको उहाँको ठहर छ । बीचमा अन्य कुनै भेरियन्ट अफ कन्सर्न नेपाल प्रवेश नगरे तत्काल तेस्रो लहर ननिम्तले उहाँ बताउनुहुन्छ । तर जोखिम भने नटरेको उहाँले बताउनुभएको छ ।

अहिलेको अवस्थामा सरकारले कोरोना विरुद्धको भ्याक्सिनलाई स्टोर गरेर राख्नुभन्दा खोपलाई महाअभियानको रुपमा सञ्चालन गर्नुपर्नेमा उहाँको जोड छ । भ्याक्सिनहरुले कुनै पनि लहरलाई रोक्न नसकेपनि मृत्यु संख्यालाई भने रोक्न सक्ने भएकाले जति सक्दो चाँडो भ्याक्सिनको उपलब्धतालाई नागरीकको पहँचमा पुर्याउनु आवश्यक रहेको उहाँको दाबी छ ।

यस्तै जनस्वास्थविद् डा.शरद वन्तले पनि अहिले नै कोरोनाको तेस्रो लहर नेपालमा देखिने सम्भावना कम रहेको बताउनुभएको छ । सरकारले नागरिकलाई तेस्रो लहर आउन सक्ने भन्दै त्रास सिर्जन गर्न नहुने उहाँले बताउनुभयो । सरकारले आधार प्रस्तुत नै नगरी तेस्रो लहर आउन सक्छ भन्नु गलत रहेको उहाँको भनाई छ । तर तेस्रो लहर आउन सक्दैन भन्नुको अर्थ जोखिम नै हटेको भन्ने बुझ्न नहुने उहाँको दावी छ ।

अहिले कोरोनाको दोस्रो लहर नै नसकिएकाले यसको संक्रमणको चेनलाई ब्रेक गर्नतर्फ लाग्नुपर्ने उहाँको भनाई छ । तर तेस्रो लहर कतिबेला र कस्तो प्रकृतिको आउँछ भन्ने कुरा हाम्रो व्यवहारमा निर्भर रहने उहाँको दावी छ ।

यस्तै स्वास्थ्यविद् डा प्रभात अधिकारीले पनि अहिले तत्काल कोरोनाको तेस्रो लहर नेपालमा नआउने बताउनुभएको छ । केहि संक्रमण दर बढेको भएपनि तेस्रो लहर भने तत्काल नआउने उहाँको दावी छ । अहिले दोस्रो लहर कायम नै रहेकाले दोस्रो लहरकै रुपमा केही संक्रमण दर बढ्न सक्ने र मृत्यु संख्या पनि केहि बढ्न सक्ने उहाँको तर्क छ ।

यता स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहोनीले भने संसदको शिक्षा तथा स्वास्थ्य समितिमा असोजको १५ देखि कात्तिक महिना भित्रमा नेपालमा तेस्रो लहर आउन सक्ने प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गत ५ महिनाको कोरोना संक्रमण हेरेर उक्त प्रतिबेदन तयार पारेको उहाँको तर्क छ । जसमा एक व्यक्तिले कति जनालाई संक्रमण गर्न सक्छ, मान्छेहरुको गतिशिलता कस्तो छ , मास्कको उपयोग कस्तो छ भन्ने जस्ता कुराहरुलाई आधार बनाएर उक्त प्रतिवेदन तयार पारेको उहाँको भनाई छ । गोरखापत्र अनलाईन

Facebook Comments