Mon. Apr 29th, 2024

आज सङ्घीय संसद्को अधिवेशन हुने

काठमाण्डौं, २०७८ साउन ३ गते आईतबार । आज सङ्घीय संसद्को अधिवेशन आजदेखि प्रारम्भ हुँदै छ । सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनस्र्थापना भएपछि दुवै सदनको अधिवेशन आह्वान भएको हो । अधिवेशनको पहिलो बैठक आइतबार अपराह्न ४ बजे बस्ने छ । बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको संसद् सचिवालयले जनाएको छ ।

स्वास्थ्य मापदण्डको तय, पदाधिकारी, सांसद, र कर्मचारीको कोरोना परीक्षणसमेत भइसकेको छ । सङ्घीय संसद् सचिवालयले आइतबारको सम्भावित कार्यसूचीसमेत तय गरेको छ । यद्यपि सरकारबाट स्पष्ट निर्देशन नआउँदा कतिवटा अध्यादेश आइतबार सदनमा पेस हुने भन्ने निश्चित छैन । प्रतिनिधि सभा विघटनको अवधिमा १६ वटा अध्यादेश जारी भएका छन् । तीमध्ये बजेटसँग सम्बन्धित अध्यादेश पनि छन् ।

अध्यादेशबाहेकका विषय समेटेर सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । तयार पारिएको कार्यसूचीमा अधिवेशन आह्वानबारे राष्ट्रपति कार्यालयको पत्र, सरकार गठन र विस्तारबारेको पत्र र केही शोक प्रस्ताव समेटिएका छन् । कार्यसूची औपचारिक रूपमा भने आइतबार बिहान बस्ने कार्यव्यवस्था परामर्श समिति बैठकले अन्तिम टुङ्गो लगाउने छ । बिहान १० बजेका लागि समितिको बैठक बोलाइएको छ ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले अधिवेशनको सबै तयारी पूरा भइसकेको जानकारी दिनुभयो । आइतबारको अन्तिम कार्यसूची भने कार्यव्यवस्था परामर्श समितिले टुङ्गो लगाउने उहाँले बताउनुभयो । अधिवेशन नभएको अवधिमा १६ वटा अध्यादेश जारी भएका छन् । जसमा बजेटसम्बन्धी तीन अध्यादेश, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश, रेलवे अध्यादेश, नागरिकता अध्यादेश सरकारले ल्याएको थियो । सोमध्ये नागरिकता अध्यादेश सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाइसकेको छ ।

कोभिड सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेश, शपथसम्बन्धी अध्यादेश, औषधि तेस्रो संशोधन अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, यौन हिंसा अध्यादेश तथा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलगायत छन् । हाल सत्तारूढ रहेको तत्कालीन विपक्षी गठबन्धनले नागरिकता, संवैधानिक परिषद्सम्बन्धी लगायतका अध्यादेशको विरोध गरेको थियो । यसअघि आफैँले विरोध जनाएका कारण ती अध्यादेश अगाडि बढाउने वा नबढाउने भन्ने निश्चित छैन ।

अध्यादेशलगायतका प्रक्रियाबारे शुक्रबार सभामुख सापकोटासँग कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भेट गर्नुभएको थियो । संसद् सचिवालयका पदाधिकारीसँगको भेटमा आगामी कार्यसूची कसरी अघि बढाउने भन्नेबारे छलफल भएको थियो । विशेषगरी अध्यादेश सबै ल्याउने वा नल्याउने भन्नेमा छलफल भएको थियो । गोरखापत्र अनलाईन

Facebook Comments