Sat. Sep 28th, 2024

कोभिडबारे फेसबुकमा फैलिएका मिथ्या सूचनाले मानिसको ज्यान लिइरहेको छ-राष्ट्रपति बाइडन

काठमाण्डौं, २०७८ साउन २ गते शनिबार । अमेरिकी राष्ट्रपति जो बाइडनले सामाजिक सञ्जालमा फैलिरहेको कोभिड-१९ विरुद्धको मिथ्या सूचनाले मानिसहरूको ज्यान लिइरहेको बताउनु भएको छ ।

फेसबुक सहितका माध्यमहरूले खोप र महामारीका सन्दर्भमा गलत सूचना फैलाइरहेको विषयमा एक जना पत्रकारले सोधेको प्रश्नमा जवाफमा बाइडनले त्यसो भन्नुभयो।

कम खोप दर भएका ठाउँमा सङ्क्रमण विस्तार भइरहँदा ह्वाइट हाउसले महामारीबारेका मिथ्या सूचना नियन्त्रण गर्न फेसबुक विफल भइरहेको टिप्पणी गरेको छ।

आफ्नो प्रतिक्रियामा फेसबुकले मानिसहरूलाई कसरी खोपसम्म पहुँच प्राप्त गर्ने भन्ने जानकारी दिएर आफूले जीवन बचाइरहेको टिप्पणी गरेको छ।

अमेरिकी स्वास्थ्य अधिकारीहरूले हाल कोभिड-१९ को कारण बढिरहेको मृत्यु र सङ्क्रमण दर विशेषगरी कोरोनाभाइरसबाट सुरक्षा नअपनाएका मानिसहरूमा देखिएको उल्लेख गरेका छन्।

सङ्क्रमणका घटना बढेपछि लस भेगसमा क्षेत्रीय स्वास्थ्य अधिकारीहरूले खोप लगाएका वा नलगाएका दुवै थरी मानिसहरूलाई भिडभाड हुने भवनभित्र मास्क लगाउन भनेका छन्।

ह्वाइट हाउसले गलत सूचना प्रवाह रोक्न सामाजिक सञ्जालहरूमाथि दबाव बढाउँदै गएको छ।

शुक्रवार बाइडनले भन्नुभयो, “उनीहरूले मानिसका ज्यान लिइरहेका छन्। खोप नलगाएकाहरूमा मात्रै हामीकहाँ महामारीको अवस्था छ।”

यसअघि ह्वाइट हाउसकी प्रवक्ता जेन सकीले फेसबुक र अन्य माध्यमहरूले खोपका बारेका मिथ्या सूचना नियन्त्रणका लागि पर्याप्त कदमहरू नचालेको बताउनु भएको थियो।

उहाँले भन्नुभयो, “पक्कै पनि उहाँहरूले केही कदम चालेका छन्। तर अझै पनि थप कार्य गर्नुपर्ने प्रस्ट छ।”

फेसबुकले जनस्वास्थ्य रक्षाका लागि आफूले “आक्रामक कदम” चालेको बताएको छ। फेसबुकका प्रवक्ता केभीन मकालिस्टरले कम्पनी “तथ्यमा आधारित नभएका आरोपहरूबाट विचलित नहुने”  बताउनु भयो।

एउटा विज्ञप्तिमा फेसबुकले भनेको छ, “हामीले एक करोड ८० लाखभन्दा बढी कोभिडसम्बन्धी मिथ्या सूचनाहरू हटाएका छौँ र नियमित रूपमा हाम्रा नियमहरू मिच्ने खाताहरूलाई बन्द गरिदिएका छौँ।”

यसअघि पनि फेसबुकले प्रकाशित सामग्रीहरूको नियमन लिएर आलोचना खेपेको थियो। अझै पनि महामारीसँग सम्बन्धित गलत विवरणहरू उक्त माध्यममा प्रशस्तै पाइन्छन्। बिबिसी

Facebook Comments