Sun. May 19th, 2024

प्रभावशाली मन्त्रालय आफ्नो भागमा पार्न कांग्रेस लगायतका दलहरुबीच खिचातानी सुरू

काठमाण्डौं, २०७८ साउन २ गते शनिबार । सत्ताको नेतृत्व लिएको कांग्रेसले मन्त्रालय भागबन्डा र सरकारको न्यूनतम साझा कार्यक्रमलगायत काम गर्न अनौपचारिक तहको कार्यदल बनाउनुपर्ने निष्कर्ष निकालेको छ । बालुवाटारमा शुक्रबार बसेको कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी सम्मिलित बैठकले सत्ता गठबन्धन दलबाट दुई/दुई जना सदस्य रहने गरी कार्यदल बनाउन प्रस्ताव गरेको हो ।

दलहरूबीच प्रभावशाली मन्त्रालय आफ्नो भागमा पार्न खिचातानी चलिरहेको छ । मन्त्रालय भागबन्डाको मापदण्ड तय गरेर निर्णयका लागि सहजीकरण गर्न कार्यदलले काम गर्ने कांग्रेसका एक नेताले बताए । एमालेको माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी हुने/नहुनेबारे निर्णय नभएकाले मन्त्रालय भागबन्डामा अन्योल भएको उनको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएकै दिन कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना सरकारमा गए पनि अन्य मन्त्रालय भागबन्डा हुन नसक्दा मन्त्रिपरिषद् विस्तार भएको छैन ।

कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्ने गरी तयारी अघि बढाएको छ । भदौ १६ देखि १९ सम्म केन्द्रीय महाधिवेशनको तालिका तोकिएको छ । तल्लो तहका अधिवेशन भने साउन १२ देखि नै सुरु हुने भएको छ । क्रियाशील सदस्यता र निर्वाचन समितिको निर्देशिका टुंगो लगाउने काम भइरहेको कांग्रेस नेता रमेश लेखकले बताउनु भयो । उहाँले समयमै महाधिवेशन सम्पन्न गर्ने गरी छलफल केन्द्रित भएको बताउनु भयो । क्रियाशील सदस्यता र निर्वाचन समितिको निर्देशिका सम्बन्धित कामहरू टुंगो लाग्ने भएको बताउनु भयो ।

क्रियाशील सदस्यतासम्बन्धी विवादलाई लिएर सिन्धुपाल्चोकका कांग्रेसका स्थानीय नेताहरूको अगुवाइमा आएका एक हूल कार्यकर्ताले शुक्रबार सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि हातपात गरेका छन् । राप्रपाबाट कांग्रेस प्रवेश गरेका करिब १२ सय सदस्यताको विवाद उठेकाले समितिले शीर्ष तहमा पठाउने निर्णय गरेको थियो, त्यसैलाई लिएर घिमिरेमाथि हातपात भएको हो । ‘मलाई केहीछिन सल्लाह छ भनेर साथीहरूले बाहिर बोलाउनुभयो, राम्रै व्यवहार गरेर बोलाएकाले म साथीहरूमाझ गएँ । गेटबाहिर जानासाथ जथाभावी मुख छाड्दै ममाथि हातपात भयो,’ घिमिरेले भन्नुभयो ।

समितिले गौशालास्थित धर्मशालामा बसेर छानबिनको काम गरिरहेको छ । पूर्वमन्त्रीसमेत रहेका नेता मोहन बस्नेतले बिहान त्यही विषयलाई लिएर घिमिरेलाई टेलिफोन गरी धम्क्याउनु भएको थियो। ‘समितिका सदस्यमाथि नै हातपात हुनुलाई संयोग मात्रै मान्न सकिन्न,’ समितिका एक सदस्यले भने, ‘यो घटनालाई गम्भीरतापूर्वक लिन हामीले पार्टी शीर्ष नेताहरूको पनि ध्यान तानेका छौं । मकवानपुर, बारा, धनुषा र सप्तरीमा पनि सदस्यता विवाद चर्केको छ ।

पार्टीले विधानको प्रक्रिया पूरा नगरेका नयाँ क्रियाशील सदस्यतासम्बन्धी विवादलाई थाती राखेर पुराना सदस्यबाट अधिवेशन गराउने निर्णय गरेको छ । यसैलाई लिएर कार्यकर्ताले पार्टी कार्यालय धर्ना दिँदै आएका छन् । बिबिसी

Facebook Comments