Tue. Apr 23rd, 2024

बेपत्ता पारिएकै दिन सुजिताको हत्या

काठमाण्डौं, २०७८ असार ३१ गते बिहीबार । महोत्तरीकी सुजिता ठाकुरको हत्या आरोपमा पक्राउ परेकाहरूले उहाँलाई बेपत्ता भएको भनिएकै दिन हत्या गरेर शव लुकाउन ठाउँ फेरेको बताएका छन् । महोत्तरीको लोहारपट्टि-७ भ्रमरपुराकी २७ वर्षीया ठाकुर जेठ २० देखि बेपत्ता हुनुहुन्थ्यो । उहाँको हत्याको आरोपमा पक्राउ गरेका चार जनालाई प्रहरीले मंगलबार सार्वजनिक गर्दै घटनाको थप तथ्य बाहिर ल्याएको हो ।

‘हतियार प्रयोग भएको देखिएन । देवरले मुक्काले घाँटीमा हानेर, भित्तामा टाउको ठोक्काएर हत्या गरेको रहेछ,’ महोत्तरीका डीएसपी प्रकाश विष्टले भन्नुभयो, ‘बेपत्ता भएको भनिएको दिन जेठ २० को बिहान ९ बजेतिर घटना गराएको र दिनभर शव कोठमा राखेको खुलेको छ ।’ प्रहरीले पक्राउ गरेकाहरूमा सुजिताका देवर २९ वर्षीय रूपेश ठाकुर, ३७ वर्षीया बन्डा भनिने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भनिने आदम रइन र ३२ वर्षीय नथुनी मण्डल छन् । सुरुमा प्रहरीले सुजिताका श्रीमान् मुकेश ठाकुर र देवर रूपेशलाई नियन्त्रणमा लिएको थियो । अन्य तीन जनालाई अनुसन्धानपछि हत्यामा संलग्न देखिएको आधारमा पक्राउ गरिएको डीएसपी विष्टले बताउनु भयो ।

सुजिताको खोजी गर्ने क्रममा गत असार १३ मा धानको ब्याड राखेको खेतमा ७ फिट तल कपाल, पोको पारेको तन्ना र झ्यालको पर्दासँगै नुन र शव गलाउन प्रयोग हुने केमिकल भेटिएको थियो । त्यसपछि प्रहरीले उहाँको हत्या भएको हुन सक्ने शंका गर्दै सुजिताका श्रीमान् र देवरलाई पक्राउ गरेको थियो । पछि प्रहरीले मुकेशलाई सुस्तमनस्थितिको जस्तो देखिएको र हत्यामा संलग्नता पुष्टि हुने तथ्य नभेटिएको भन्दै सुजिताका बाबु कामेश्वर पाण्डेको जिम्मा लगाएर छाडेको थियो ।

घटनाको ३८ दिनपछि सुजिताको शव बोरामा लुकाएको अवस्थामा घरभन्दा करिब ५ सय मिटर पर सेप्टिक ट्यांकीमा निकै मुनि लुकाएको भेटिएको थियो । देवर रूपेश हत्यामै संलग्न रहेका र अन्य पक्राउ परेका व्यक्ति शव ओसारपसार गरी गाड्न तथा सार्न सहयोगी भूमिका निर्वाह गरेको देखिएको प्रहरीले जनाएको छ ।

कान्तिपुर अनलाईनका अनुसार हत्या भएको रातिमात्रै खेतमा खाल्डो खनेर शव गाडेको र अरुले थाहा पाएको शंका गर्दै असार १३ मा सारेर सेप्टिक ट्यांकीमा पुर्‍याएको बयानमा खुलेको छ । मृतकका ९ र ५ वर्षका छोरी र छोरा यतिबेला मावलीमा छन् । घटना हुँदा दुवै घरमै थिए । पछि उनीहरूलाई नजिकै फुपूको घरमा पुर्‍याइएको थियो । सुजिताका ससुरा पतिराम ठाकुर, सासू रामपति देवी र देवरानी रोमी भनिने प्रिया ठाकुर भने अझै फरार छन् ।

Facebook Comments