Sat. Apr 27th, 2024

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

काठमाण्डौं, २०७८ असार ३१ गते बिहीबार । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको छ । पाँच विद्यार्थी संगठनको दबाबपछि निगमले मूल्य घटाएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२८ रुपैयाँ र डिजेल १११ रुपैयाँ कायम भएको छ नयाँ मूल्य बुधबार राति १२ बजेपछि लागु भएको छ । इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत पाँच विद्यार्थी संगठनले बुधबार थानकोटस्थित नेपाल आयल निगमको डिपोमा धर्ना दिएका थिए ।

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंका विद्यार्थी संघले मूल्यवृद्धि फिर्ताको माग राख्दै धर्ना दिएका हुन् । गत साता निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँग विद्यार्थी सगठनले विरोध गर्दै आएका थिए ।

कारोबार अनलाईनका अनुसार असार २९ गतेसम्मको अल्टिमेटमभित्र पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नगरिएकाले थानकोटस्थित डिपो रहेको बागमती प्रादेशिक कार्यालय अगाडि धर्नामा बसेको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै पाँच विद्यार्थी संगठनले बुधबार देशभरका पेट्रोल पम्प, इन्धन ढुवानी ट्यांकर र नेपाल आयल निगमका बिक्री डिपो बन्द गर्ने कार्यक्रम घोषणा गरेका थिए ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर आएकाले निगमले इन्धनको मूल्य बढेको निगमको भनाइ छ । लगातार इन्धनको मूल्य बढे पनि थेग्न नसक्ने अवस्था हुँदा इन्धनको मूल्य बढाउनुपरेको निगमको भनाइ छ । निगमका अनुसार, मूल्यवृद्धि गर्दा पनि १५ दिनमा झन्डै एक अर्ब रुपैयाँ घाटा छ । मूल्य समायोजन गर्दा पनि पेट्रोलमा ७ रुपैयाँ ४५ पैसा, डिजेलमा ४ रुपैयाँ ३५ पैसा, खाना पकाउने एलपीजी ग्यामा प्रतिसिलिन्डर ३ सय १९ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

Facebook Comments