Fri. Apr 19th, 2024

इङ्ल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै युरोकप फुटबलको उपाधि इटलीलाई

काठमाडौं, २०७८ असार २८ गते सोमबार । १६ औं संस्करणको युरोकप फुटबलको उपाधि इटलीले घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै  जितेको छ । आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटलीले उपाधि जितेको हो ।

यस उपाधिसँगै इटलीले दोस्रो पटक युरोकपको उपाधि जितेको छ । यस अघि इटलीले १९६८ मा युरोको उपाधि जितेको थियो । इंग्ल्यान्ड भने युरोकपको उपाधि जित्न असफल भएको छ ।

वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा इटलीले बाजी मार्यो । पेनाल्टीमा इटलीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गर्नुभयो । आन्द्रे बेलोट्टी र जोर्गिन्होको प्रहार इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले रोक्नु भएको थियो।

इंग्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गर्नुभयो । तर, मार्कुस राषफोर्डको प्रहार पोस्टमा लागेर फर्कदा जाडोन सान्चो र साका बाकुयोको प्रहार इटलीका गोलकिपर जियानलुइजी डोनारुम्माले रोक्नु भएको थियो ।

त्यसअघि खेलमा सुरुवाती अग्रता इंग्ल्यान्डले बनाएको थियो ।

खेलको दोस्रो मिनेटमा लुक शले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाउनु भएको थियो । उहाँले किएरन ट्रिपिएरको क्रसमा वान टच गोल गर्नुभयो।

तर, खेलको ६७ औं मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै इटलीलाई १-१ गोलको बराबरीमा फर्काउनुभयो । मार्को भेराट्टीको हेडर पोस्टमा लागेर फर्किएको बलमा उहाँले गोल गर्नु भएको थियो।

इंग्ल्यान्डमाथिको जितसँगै इटलीले ३४ खेलसम्म अपराजित यात्रालाई कायम राख्न सफल भएको छ । इटलीले यस अघि ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो । इटलीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।

इटलीले सेमिफाइनलमा तीन पटकको च्याम्पियन स्पेनलाई पेनाल्टीमै हराएर फाइनल यात्रा तय गरेको हो । इटलीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गरेको थियो ।

इंग्ल्यान्डले भने डेनमार्कलाई हराएर इटलीसँगको भेट पक्का गरेको थियो । इंग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको थियो । एजेन्सी

Facebook Comments