Mon. May 6th, 2024

एमाले कार्यदलको बैठक सिंहदरबारमा बस्दै, आज सहमतिलाई अन्तिम रुप दिइने

काठमाडौं, २०७८ असार २६ गते शनिबार । सत्तारुढ दल नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय कार्यदलको बैठक आज पनि बस्दैछ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा दिउँसो २ः३० बजेका लागि बैठक तय भएको कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । आजको बैठकमा कार्यदलका सदस्यले सहमतिको दस्तावेजलाई मोटामोटी टुङ्गो लगाएपछि अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालसँग बसेर अन्तिम रुप दिने तयारी कार्यदलका सदस्यहरुको छ ।

हिजो बसेको कार्यदलको बैठकले सहमतिको दस्तावेज मस्यौदा गरेको बताएको थियो । यसअघि गत बुधबार अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता भएको थियो । सोपछि दुई नेताबीच वार्ता हुन सकेको छैन । कार्यदलस्तरमा सहमति गर्ने जिम्मेवारी दिएका दुवै नेताले सहमतिलाई अन्तिम रुप दिन दुई नेताबीच पुनः वार्ता हुने कार्यदलका सदस्यहरुको बुझाई छ । एमाले पार्टी संरचनालाई २०७५ जेठ २ गतेअघिको सांगठनिक प्रक्रियामा लगेर अगाडि बढ्ने, केन्द्रीय कमिटीलाई विस्तार गरी केही नेताहरुलाई त्यसमा समेट्ने तयारी कार्यदलको छ ।

नेता नेपालले केही आफ्नो पक्षका नेताहरुलाई केन्द्रीय कमिटीमा समेट्न चाहेको बुझिएको छ । केन्द्रीय कमिटीमा नेताहरु समेटिने भएपछि कमिटीको आधार ठूलो हुनेछ ।

नेपाल-दाहाल भेट

कार्यदलका सदस्यहरुले एमाले भित्रको विवादलाई सहमतिमा पु¥याउनै लाग्दा वरिष्ठ नेता नेपाललाई भेट्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वरस्थित नेपाल निवास पुग्नुभएको खवर बाहिर आएको छ । दुई नेताबीच दिउँसो छलफल भएको बताइए पनि अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले भेटघाटबारे आफूलाई जानकारी नभएको बताउनुभयो । गोरखापत्र अनलाईन

Facebook Comments