Fri. Apr 26th, 2024

विश्व बैङ्कद्वारा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि दस करोड डलर सहयोग

काठमाडौं, २०७८ असार २६ गते शनिबार । विश्व बैङ्कले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि थप १० करोड डलर सहयोग दिने भएको छ । विश्वै बैङ्कले शिक्षाका लागि पाँच करोड र स्वास्थ्यका लागि पाँच करोड डलर सहयोग दिन लागेको हो ।

विश्व बैङ्कले विद्यालय क्षेत्र विकास कार्यक्रमलाई थप प्रवद्र्धन गर्न सहयोग गर्न लागेको जनाएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीको सुदृढीकरणका लागि यो रकम उपयोग हुने जनाएको छ ।

विश्व बैङ्कका नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि देशीय निर्देशक फारिस हदाद जेरभोसका अनुसार यो सहायताबाट नेपालको शिक्षा क्षेत्रलाई सक्षम बनाउन तथा स्वास्थ्य प्रणालीलाई चुस्त बनाउन नेपाल सरकारलाई मद्दत पुग्नेछ । “नेपालमा गरिब तथा विपन्न समुदायका लागि शिक्षा र स्वास्थ्यसम्मको पहुँच जटिल छ,” जेरभोसले भन्नुभएको छ, “यो सहायताबाट हामीले बीचमै विद्यालय छाडेका बालबालिकाका लागि विद्यालय फर्कन सक्ने वातावरण बन्ने अपेक्षा गरेका छौँ । त्यस्तै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पनि प्रभावकारी सुधार आउनेमा विश्व बैङ्क विश्वस्त छ । ”

विद्यालय क्षेत्र विकास कार्यक्रमले बालबालिकाको स्कुल अध्ययनलाई निरन्तरता दिने वातावारण निर्माण गर्ने लक्ष्य राखेको छ । यस्तै स्वास्थ्य क्षेत्रको सहयोगले कोभिड-१९ महामारीको अवस्थामा जटिल रहेको नेपालको स्वास्थ्य प्रणालीलाई सहयोग पु-याउने लक्ष्य छ । गोरखापत्र अनलाईन

Facebook Comments