Mon. May 6th, 2024

प्रधानमन्त्री ओली आज बाढी पहिरोको निरीक्षण गर्न मेलम्ची जानुहुँदै

काठमाडौं, २०७८ असार २६ गते शनिबार । प्रधानमन्त्री केपी शर्मा ओली आज बाढीरपहिरोले क्षति पारेको मेलम्ची लगायत सिन्धुपाल्चोकका विभिन्न क्षेत्र जाँदै हुनुहुन्छ ।

बाढीबाट ठूलो क्षति व्यहोरेको मेलम्ची बजार, मेलम्ची खानेपानी आयोजना लगायत सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न प्रधानमन्त्री नेपाली सेनाको हेलिकप्टरमार्फत सिन्धुपाल्चोक जानुहुने कार्यक्रम तय भएको हो । प्राप्त जानकारी अनुसार प्रधानमन्त्री बिहान १० बजे सिन्धुपाल्चोक जानुहुने छ ।

प्रधानमन्त्री ओली मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुने र बाढी/पहिरो पीडितलाई राहत प्याकेजको घोषणा गर्ने तयारी छ । कार्यक्रममा प्रधानमन्त्रीसँग बाढीपहिरो पीडित, जनप्रतिनिधि, राजनीतिक दलका नेता कार्यकर्तासँग अन्तरक्रिया कार्यक्रमसमेत गरिने भएको छ ।

त्यसैगरी सो अवसरमा जिल्ला विपत् व्यवस्थापन समितिले बाढीपहिरोबाट जिल्लामा भएको क्षतिबारे प्रधानमन्त्रीलाई जानकारी गराउने छन् । मनसुन सुरु भएलगत्तै गएको असार पहिलो हप्ता आएको बाढी/पहिरोले सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनासहित विभिन्न ठाउँमा ठूलो क्षति पुर्याएको थियो ।

Facebook Comments