Sat. Sep 28th, 2024

अवैध बाटोबाट अमेरिका छिर्न लागेका ७ जना नेपाली क्यारेबियन सागरमा हराए

काठमाडौं, २०७८ असार २५ गते शुक्रबार । अवैध बाटोबाट अमेरिका छिर्न लाग्दा कोलम्बियाको समुद्रमा डुंगा दुर्घटना हुँदा ७ जना नेपालीसहित १२ जना हराएका छन् । दुर्घटनापछि उद्धारमा खटिएको कोलम्बियाको कोभेनास कोस्ट गार्ड स्टेसनका अनुसार डुंगामा १८ जना सवार थिए । तीमध्ये एकजना नेपाली र पाँचजना बंगलादेशीको उद्धार भएको छ । अन्य सात नेपालीसहित १२ जना हराइरहेका छन् । स्टेसनले जनाएअनुसार घटना १९ जुन ९असार ५० मा भएको हो ।

असार १० र ११ गते बंगलादेशबाट प्रकाशित पत्रिका ‘डेली स्टार’ ले पनि कोलम्बियाको पोएर्तो स्कोन्दिदोस्थित क्यारेबियन सागरमा ८ नेपाली र १० बंगलादेशी आप्रवासीहरू चढेको डुंगा दुर्घटनामा परेको समाचार छापेको छ । उक्त समाचारमा पाँच जनाको उद्धार भएको र तीमध्ये ३ जना बंगलादेशीको पहिचान भए पनि दुई जनाको परिचय नखुलेको उल्लेख छ ।

उक्त डुंगामा सवार ८ नेपालीहरुमा दाङ तुल्सीपुरका २१ वर्षीय एन्जल बुढामगरसहित दाङ तुल्सीपुरकै हेमराज अधिकारी, दाङ पश्चिम हापुरेका रेशम डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वतकै ग्यादीका राजु गुरुङ, स्याङ्जाका नाम नखुलेका देवकोटा, म्याग्दीका प्रकाश विक र जिल्ला अनि नाम नखुलेका अर्का एक जना छन् । तीमध्ये उद्धार गरिएका म्याग्दीका प्रकाश विक एक अस्पतालमा उपचार गराएर फर्किइसकेका छन् ।

एन्जलको परिवारले दुर्घटनामा परेर आफ्नो मान्छेको मृत्यु भएको टुंगो लगाए पनि डुंगामा सवार अरू परिवारका सदस्य घटना के भएको हो भन्ने निष्कर्षमा पुगिसकेका छैनन् । त्यसो त डुंगा चढ्न होटलबाट हिँडेको बताएका कोही पनि त्यसयता परिवार वा आफन्तीको सम्पर्कमा आएका छैनन् । डुंगामा सवार कुश्माका दिनेश गौतमका दाजु दीपकले घटनाको दिनयता भाइसँग कुनै सम्पर्क नभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कसैले के भन्छन्, कसैले के भन्छन् । दुर्घटनामा कतिको मृत्यु भएको हो, को-को बाँचेका हुन्, केही यकिन गर्न सकिरहेका छैनौं । चिन्ता मात्रै बढेको छ ।’

दीपकले म्याग्दीका प्रकाशसँगको कुराकानी उद्धृत गर्दै भन्नुभयो, ‘प्रकाशले आफूलाई छालले हुत्याएको, केही डुब्न लागेको डुंगामा झुन्डिएको देखेको र पछि क-कसको के भयो थाहा नभएको बताए ।’ कान्तिपुरले डुंगा दुर्घटनामा बाँच्नु भएका प्रकाशसँग पनि सम्पर्क गरेको थियो । ह्वाट्स एपमार्फत सम्पर्कमा आउनु भएका प्रकाशले आफूलाई अहिले ठीक भएको बताए पनि अरूको अवस्थाबारे केही उत्तर दिनु भएन ।

दुर्घटनामा ८ जना नेपाली परेको पुष्टि भए पनि कति जनाको मृत्यु भएको हो, मृत्यु भएका भनिएकाको शव कहाँ राखिएको छ, तिनीहरूलाई कसले कोलम्बियासम्म पुर्‍याएको हो भन्नेबारे सरकारी तवरबाट कुनै सूचना सार्वजनिक भएको देखिन्न । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले कोलम्बियामा भएको डुंगा दुर्घटनामा नेपाली परेको विषयमा एक जनाको परिवारका सदस्यले आफूलाई व्यक्तिगत रूपमा जानकारी गराएको बताउनु भयो ।

कोलम्बियामा भएको दुर्घटनामा नेपालीको मृत्यु भएको जानकारी बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई पनि सरोकारवाला परिवारका सदस्यले मौखिक रूपमा गराएका थिए । मानव बेचबिखन नियन्त्रण ब्युरोका प्रवक्ता एसपी अनुरागकुमार द्विवेदीले कोलम्बिया घटनाबारे आफूहरूले कुनै औपचारिक सूचना नपाएको बताउनु भयो । प्रहरी वा निजामती कर्मचारीको तहबाट पनि यो घटनाबारे चासो राख्ने, परिवारजनलाई आवश्यक सूचना दिने तथा घटनामा जिम्मेवारहरूको पहिचान र खोजी गर्ने काम भएको देखिन्न ।

डुंगा दुर्घटनाबारे बुझ्न सम्पर्क गरेका एक दर्जन सूचना स्रोतले दिएको जानकारी केलाउँदा ८ जना नेपालीलाई तीन फरक-फरक एजेन्टले फरक-फरक मितिमा काठमाडौंबाट उडाएका थिए । उनीहरू सबैलाई नेपाली एजेन्टहरूले अवैध मार्गबाट कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, ग्वाटेमाला हुँदै मेक्सिको पुर्‍याएर त्यहाँबाट अमेरिका छिराउने योजना बनाएको देखिन्छ । कान्तिपुर अनलाईन

थप समाचारको लागि पोर्तुगी भाषाको तलको लिंक खोलेर गुगलबाट अंग्रेजीमा रुपान्तरण गरेर हेर्न सकिनेछ ।

https://www.infobae.com/america/colombia/2021/06/23/encuentran-cuatro-naufragos-en-aguas-del-mar-caribe-que-estan-en-jurisdiccion-de-cordoba/

तलको लिंक खोलेर माथिको लिंक भित्रको समाचार कपि गरेर पेष्ट गरि रुपान्तरण गर्दा सजिलै अंग्रेजीमा पढ्न सकिन्छ ।

https://www.google.com/search?q=translate&oq=tra&aqs=chrome.0.69i59j0i19j69i57j69i59j0i19j69i60j69i61l2.1192j0j7&sourceid=chrome&ie=UTF-8

 

Facebook Comments