Sat. May 4th, 2024

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ विश्वासको मत लिन असफल

काठमाडौं, २०७८ जेठ २७ गते बिहीबार । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विश्वासको मत लिन असफल हुनुभएको छ । गुरुङले आज विश्वासको मतका लागि प्रदेश सभामा राख्नु भएको प्रस्तावमा २७ मत परेको छ । त्यस्तै प्रस्तावको विपक्षमा ३० मत परेको छ । प्रस्ताव अस्वीकृत भएसँगै उहाँ मुख्यमन्त्री पदबाट मुक्त हुनुभएको छ ।

सभामुख नेत्रनाथ अधिकारीले मतदानमा ५८ जना उपस्थित भएको र ५७ जनाले मतदान गरेकोमा विश्वासको मतको प्रस्तावको पक्षमा २७ मत र विपक्षमा ३० मत परेको घोषणा गर्नुभयो । बाँकी एक जनाको बारे भने कुनै जानकारी प्राप्त भएको छैन ।

यसअघि वैशाख २७ गते मुख्यमन्त्री गुरुङमाथि अविश्वासको प्रस्ताव राख्ने कार्यक्रम तय भएपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो । त्यसपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले सरकार गठनका लागि आव्हान गर्नुभए पनि कुनै पनि दलको बहुमत नपुगेपछि सबैभन्दा ठूलो दलको हैसियतले गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्ति हुनुभयो ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुभएकाे हो ।

Facebook Comments