Sat. Apr 20th, 2024

अमेरिकाले ‘विश्वका लागि ५० करोड खोपको मात्रा खरिद गर्ने’

काठमाडौं, २०७८ जेठ २७ गते बिहीबार ।अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले दुई वर्षको अवधिमा ५० करोड फाइजर खोपको मात्रा करिब १०० वटा देशलाई उपलब्ध गराउने संयुक्त राज्य अमेरिकाका सञ्चारमाध्यमहरूले जनाएका छन्।

यो वर्षभित्र २० करोड खोपको मात्रा वितरण गरिनेछ भने बाँकी सन् २०२२ मा वितरण गरिनेछ। अमेरिकालाई गरिब देशहरूमा कोरोनाभाइरस विरुद्धको खोपको दर वृद्धिका लागि सघाउन दबाब परिरहेको छ।

अमेरिकी राष्ट्रपतिका रूपमा पहिलो विदेश भ्रमणको सुरुवात गर्दै जो बाइडन यूकेमा ओर्लिएपछि पछिल्ला खबरहरू सार्वजनिक भएका हुन्।

ह्वाइट हाउसले ५० करोड खोपको वितरणबारे आधिकारिक तवरले केही बताएको छैन। तर विश्वका लागि अमेरिकाको खोप रणनीतिबारे सोधिएको प्रश्नमा बाइडनले भन्नुभयो, “मसँग एउटा छ र म त्यो घोषणा गर्नेछु।”

बुधवार साँझ सफोकस्थित आरएएफ मिलडनहल हवाई अखडामा अमेरिकी एअर फोर्स वान विमान अवतरण गरेको हेर्न एउटा ठुलो भीड उपस्थित थियो।

बाइडनले उक्त अखडामा उपस्थित अमेरिकी सैनिकका परिवारहरूलाई सम्बोधन गर्दै न्याश्नल गार्डका रूपमा काम गरेका आफ्ना दिवंगत छोराको पनि सम्झना गर्नुभएको थियो ।

उहाँले अमेरिकी साझेदारहरूलाई “समान विचार भएका राष्ट्रहरू” भन्दै “अमेरिका पुनः फर्किएको” बताउनु भयो।

विश्वका लोकतन्त्रहरू सबैभन्दा कठिन चुनौतीहरू र भविष्यका लागि सबैभन्दा महत्त्व राख्ने विषयहरूमा एक ठाउँमा उभिएको उहाँले बताउनु भयो। पछि उहाँले कोर्नवालको भ्रमण गर्नुभएको थियो ।

अमेरिकी राष्ट्रपति र ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले ब्रिटेनको दक्षिण पश्चिम कुनामा जी सेभेनको शिखर बैठक अघि बिहीबार पहिलो पटक भेटवार्ता गर्दै हुनुहुन्छ।

आठ दिने भ्रमणमा राष्ट्रपति बाइडनले महारानीसँग विन्डजर क्यासलमा भेट्नुहुनेछ र राष्ट्रपतिको रूपमा पहिलो नेटो शिखर बैठकमा पनि भाग लिनुहुनेछ । बिबिसी

Facebook Comments