Fri. Apr 19th, 2024

याे वर्ष औसतभन्दा बढी पानी पर्ने, सतर्कता अपनाउन माैसमविद्काे अनुरोध

काठमाडौं, २०७८ जेठ २७ गते बिहीबार । नेपालमा यस वर्ष औसतभन्दा बढी पानी पर्नेछ । अहिले पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव नेपालमा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको केही दिनमा मनसुन नेपालमा भित्रिसक्नेछ । नेपालमा मनसुन भित्रिन एक-दुई दिन लाग्ने देखिएको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । “ विस्तारै मनसुन भित्रिदै छ, नेपालमा आइ पुग्न एक-दुई दिन लाग्छ”-उहाँले भन्नुभयो । उहाँका अनुसार यस वर्षको मनसुन जुन १३ नजिक छ ।

नेपालमा यस वर्ष औसतभन्दा धेरै पानी पर्ने अनुमान गरिएको मौसमविद श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार मनसुनी प्रणाली बङ्गालको खाडीसम्म आएको र त्यो पूर्वी क्षेत्र हुँदै देशभर फैलने र सामान्यता पर्ने १५ सय मिलिमिटर पानी भन्दा धेरै पानी पर्ने प्रक्षेपण गरिएको छ । “औसतमा १० प्रतिशत तलमाथि भएमा सामान्य मनसुन भनिन्छ”-उहाँले भन्नुभयो,“निरन्तर झरी पर्ने, केही समय रोकिने मनसुनी विशेषता हो ।” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुको संयोजनमा समिति रहने र त्यसले काम गर्ने गरेको गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताउनुभयो । उहाँका अनुसार प्रत्येक वर्ष बाढी र पहिरो जाने गर्छ । त्यसको लागि पूर्व तयारी रहने गर्छ र अहिले कोभिडको समस्या पनि पुरानो भइसकेकोले आफूहरु तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

“यो प्रत्येक वर्ष आउने समास्या हो, कोरोना आएको पनि एक-डेढ वर्ष हुनै लाग्यो दुई वटै जोखिमसँगै भयो भने काम गर्न समास्या हुँदैन, दुई वटैको छुट्टाछुट्टै समिति छ”-प्रवक्ता दाहालले भन्नुभयो । यता, स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले कोरोनाको नयाँ-नयाँ लहर आइरहेको र नयाँ भेरियन्ट रहेकाले सबै जनालाई खोप नलगाउँदासम्म केही नहुने बताउनुभयो । “नयाँ-नयाँ लहर आइरहेको छ, नयाँ-नयाँ भेरियन्ट पनि छ, त्यस कारण धेरैले खोप नपाउँदासम्म गाहृो छ ।” कोभिड-१९ को दोस्रो लहर नेपालमा अझै रहेको उहाँले बताउनुभयो । कोरोना महामारी रहेकै बेला प्राकृतिक विपद् आउँदा समस्या त्यति जटिल हुन नदिने ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताउनुभयो । उहाँले भन्नुभयो,“ यसका लागि काम गरिरहनु भएको छ, समस्यामाथि समस्या आयो भने पनि त्यति गाहृो हुँदैन, हामीसँग पूर्व तयारी छ  भर्खर मन्त्रालयमा छलफल भएको र फेरि पनि छलफल हुनेछ ।”

बाढीपहिरोले सडक अवरुद्ध भएर खोपलगायतका अत्यावश्यक सामग्री ढुवानीमा असर पर्न नदिन अर्को बैठकमा छलफल गर्ने जानकारी दिनुभयो । हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १, प्रदेश २, बागमती प्रदेश लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेका छ । आजको मौसम देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । देशका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र छ । राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । गोरखापत्र अनलाईन

Facebook Comments