Sat. May 18th, 2024

दिल्लीमा ‘यूके भेरिअन्ट तीव्र गतिमा फैलँदै’

- कोरोना भाइरस भारत

काठमाडौं, २०७८ बैशाक ११ गते शनिबार । कोरोनाभाइरस महामारीको दोस्रो लहरसँग जुझिरहेको भारतको राजधानी दिल्लीमा यूके भेरिअन्टबाट सङ्क्रमित हुने मानिसहरूको सङ्ख्या तीव्र गतिमा बढिरहेको पाइएको छ।

गत मार्च महिनाको तुलनामा सङ्क्रमणमा तीव्र वृद्धि देखिएको हालै गरिएको भाइरसको जीनोम स्याम्पलिङबाट थाहा भएको अधिकारीहरूले बताएका हुन्।

न्याश्नल सेन्टर अफ डिजीज कन्ट्रोलका निर्देशक डा. सुजित सिंहका अनुसार दिल्लीमा गत मार्चको दोस्रो सातातिर सङ्क्रमितमध्ये २८ प्रतिशत यूके भेरिअन्टबाट पीडित भएको पाइएको थियो भने मार्चको अन्त्यतिर त्यो बढेर ५० प्रतिशत पुगेको छ।

यूके भेरिअन्टले सङ्क्रमणको दर मात्रै बढाएको नभई सङ्क्रमितको स्थितिलाई जटिल बनाउने गरेको र त्यसबाट मृत्युदरमा पनि वृद्धि भएको उहाँले बताउनु भयो।

निर्देशक सिंहका अनुसार पछिल्ला दिनमा भारतीय भेरिअन्टबाट सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या पनि बढ्दो क्रममा पाइएको छ।

“त्यसमा दुइटा म्यूटेशन देखिएको छ जसका कारण त्यो बढी सङ्क्रामक छ र त्यसले खोपको प्रभावकारितालाई पनि कम गर्न सक्छ,” उहाँले थप्नुभयो।

सङ्क्रमणको हिसाबले दक्षिण अफ्रिका र ब्रजिल भेरिअन्टको हिस्सा ११ प्रतिशत पाइएको सिंहले एउटा वेबिनारमार्फत् जानकारी गराउनु भयो।

उहाँका अनुसार ती दुई भेरिअन्टले सङ्क्रमितको अवस्था कति गम्भीर बनाउने गरेका छन् भन्नेबारे अध्ययन भइरहेको छ।

दिल्ली त्यस्ता राज्यमध्ये एउटा हो जहाँ विदेशबाट फर्केका व्यक्ति र उनीहरूको सम्पर्कमा आएका व्यक्तिमा भन्दा स्थानीय समुदायमा यूके भेरिअन्ट बढी पाउने गरिएको छ।

दिल्लीबाहेक पञ्जाब, छत्तीसगढ र गुजरातमा पनि समुदायस्तरमा यूके भेरिअन्टबाट सङ्क्रमित हुनेहरू बढी पाइएका छन्। कोभिड-१९ का कारण शुक्रवार बलिवूडका चर्चित सङ्गीतकार श्रवणको निधन भएको परिवारले जनाएको छ।

उनी केही दिनअघि मात्र कुम्भ मेला लाग्ने हरिद्वारबाट फर्केका थिए। कुम्भ मेलामा सहभागी लाखौँ मानिसमध्ये थुप्रैलाई सङ्क्रमण भएको पाइएको छ। बिबिसी

Facebook Comments