Tue. May 7th, 2024

धरहरा देशको अतित, इतिहास र जनभावनासँग जोडिएको छ: प्रधानमन्त्री ओली

काठमाडौं, २०७८ बैशाक ११ गते शनिबार । प्रधानमन्त्री केपी शर्मा ओलीले पुन : निर्मित धरहराको उद्घाटन गर्नुभएको छ । सुन्धारामा आज आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले धरहराको उदघाटन गर्नुभएको हो । प्रधानमन्त्री ओलीले पुननिर्मित धरहराको औपचारिक उद्घाटन गर्दै इतिहास झल्किने आधुनिकता टल्कने ऐतिहासिक धरहराको औपचारिक उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउनुभएको छ ।

धराहरा उद्घाटनपछि लिफ्टबाट धरहराको २० औं तलामा पुगेर प्रधानमन्त्री ओलीले पुष्प वृष्टिसमेत गर्नुभएको थियो ।

६ वर्ष अघि वि.सं. २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भई गएको भूकम्पले धरहरा ढलेको थियो । उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएपछि पुनःनिर्माण सुरु गरिएको थियो । ६ वर्षपछि देशले पुनः सग्लो धरहरा पाएको हो ।

वि.सं. २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनःनिर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो। वि.सं. २०७५ असोज १४ गते प्राधिकरणले धरहरा पुनःनिर्माण शुरु गरेको थियो । पहिलोपटक प्रधानमन्त्री बन्नुभएका बेला वि.सं. २०७२ फागुन ४ गते  प्रधानमन्त्री ओलीले म बनाउछु मेरो धरहरा भन्दै धरहरा पुननिर्माणको औपचारिक शिलान्यास गर्नुभएको थियो ।

भूकम्पले भत्किएपछि धरहरा क्षेत्र विस्तार भएको छ। अब धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने भएको छ। यस क्षेत्रमा एउटा अर्धभूमिगतसहित चार तल्ले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय निर्माण भइरहेको छ। यहाँ ‘फूड कोर्ट’ सहितको ‘युटिलिटी ब्लक’ पनि बन्ने प्राधिकरणले जनाएको छ। धरहरा क्षेत्रमा विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैँचा तथा सङ्गीतमय फोहरासमेत बन्नेछ। जसले आन्तरिक एवं बाह्य पर्यटकलाई यहाँ आकर्षित गर्नेछ।

धरहरा क्षेत्रमा तीनतल्ले भूमिगत पार्किङको व्यवस्था गरिने छ। जहाँ ४०० गाडी र ७०० मोटरसाइकल पार्किङ गर्न सकिने छ। भीमसेन थापाले वि.सं. १८८२ मा बनाएको धरहरा (भीमसेन स्तम्भ) लाई सिसाले छोपेर संरक्षण गरी राखिएको छ। धरहरा क्षेत्रमा रहेको ऐतिहासिक सुन्धाराको पनि संरक्षण हुन लागेको छ। सुन्धारामा २४सै घण्टा पानी आउने व्यवस्था मिलाउन लागिएको छ। धरहरा र सङ्ग्रहालय जोड्ने आकर्षक आकाशे पुल पनि निर्माण गरिने छ ।

धरहराका विशेषता

धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र जमिनमुनि दुई तलाको भूमिगत संरचना छ। जमिनमाथि भुइँतल्लासहित २३ तला हुनेछ । समग्रमा धरहरा २५ तलाको छ ।

जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ। भूमिगत तलासहित ९२.२५ मिटर हुन्छ। धरहराभित्र दुई लिफ्ट राखिएको छ। लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने छन् । लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ । धरहरामा फलामको भर्याङसमेत जडान गरिएको छ।

धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २०औँ तला बाहिर २.५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ। बाइसौँ तलामा पुरानो धरहराबाट झिकी सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ। धरहरामुनिको दुईतले भूमिगत संरचनामा दुईवटा ‘विद्युतीय स्वचालित भर्याङ’ बाट तलमाथि गर्न सकिने गरी संरचना तयार पारिएको छ।

धरहराको इतिहास
वि.सं. १८८२ मा महारानी ललिता त्रिपुरासुन्दरीको आज्ञामा नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले ६१/८८ मिटर अग्लो ११ तल्ले धरहरा बनाउन लगाएको इतिहास छ। वि.सं. १९१३ मा बज्र ९चट्याङ० ले भत्केपछि वि.सं. १९२३ मा धरहराको जीर्णोद्वार गरिएको थियो ।

वि.सं. १९९० माघ २ गतेको भूकम्पले भत्किएको धरहरा दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको शासनकालमा पुनःनिर्माण गरिएको थियो । पुनःनिर्माणका क्रममा ११ तले धरहरालाई नौ तलामा सीमित गरिएको थियो।

यो धरहराभन्दा अघि वि.सं. १८८१ मा थापाले नै लगनटोलमा आफ्नो नाममा धरहरा निर्माण गरेका थिए। त्यसको नाम पनि भीमसेन स्तम्भ नै राखिएको थियो। वि.सं. १८९० मा भत्किएपछि लगनटोलको धरहरा पुनःनिर्माण नभएको ऐतिहासिक दस्तावेजमा उल्लेख गरिएको छ। रेडियो नेपाल

Facebook Comments