Fri. May 3rd, 2024

नवनियुक्त मन्त्रीज्यूहरुबाट मन्त्री पदको पद तथा गोपनीयताको शपथ

काठमाडौं, २०७७ चैत २७ गते शुक्रबार प्रधानमन्त्रीकाे शिफारिसमा आज नियुक्त हुनुभएका चार मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गाेपनीयताको शपथ ग्रहण लिनुभएको छ । शपथ लिनुहुने मन्त्रीहरूमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी हुनुहुन्छ । उहाँहरूले साविकै मन्त्रालयकाे जिम्मेवारी पाउनुभएकाे छ । सो कुराको जानकारी राष्ट्रपति कार्यालयले  दिएको छ ।

यस अघि नेकपा माओवादी केन्द्रले सांसद पदबाट हटाएपछि उहाँहरू मन्त्री पदबाट मुक्त हुनुभएकाे थियाे  । एमाले केन्द्रीय सदस्यमा मनोनीत हुनुभएका उहाँहरुलाई माओवादी केन्द्रले दलबाट निष्कासनको कारबाही गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निष्कासन गरेपछि सांसद पदबाट पदमुक्त हुने व्यवस्था छ ।

माओवादी केन्द्रले कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा बैठकलाई जानकारी गराएपछि चारैजना मन्त्रीको सांसद पद खारेज भएको थियो । बिहीबार सांसदबाट पदमुक्त हुनुभएका उहाँहरुलाई प्रधानमन्त्री ओलीले पुनः नियुक्तिका लागि सिफारिस गर्नुभएको हो । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।

 

Facebook Comments