Sat. Apr 20th, 2024

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच फोनवार्ता

काठमाडौं, २०७७ चैत २७ गते शुक्रबार नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच आज टेलिफोन वार्ता भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री एस.जयशङ्करबीच आज भएको वार्तामा कोभिड-१९ को महामारीविरुद्ध लड्ने तथा त्यसलाई परास्त गर्ने निरन्तर सहयोग आदानप्रदान गर्न सहमति भएको छ ।

दुबै देशका परराष्ट्रमन्त्रीले कोभिड-१९ महामारीविरुद्धको लडाइँमा थप सहयोग अभिवृद्धि गर्नेसहित खोपको आपूर्तिबारे विचारविमर्श गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड महामारीविरुद्धको नेपालको लडाइँमा १० लाख मात्रा कोभिशिल्ड खोप उपलब्ध गराएकोमा भारत सरकारप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

साथै उहाँले कोभिडको उच्च जोखिममा परेका नेपालीलाई दोस्रो मात्रा खोप लगाउन आवश्यक पर्ने थप खोपको आपूर्तिका निम्ति सहजीकरण गर्न भारतका बाह्य मामिलामन्त्रीसँग अनुरोध गर्नुभएको उक्त मन्त्रालयले जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रत्युत्तरमा बाह्य मामिला मन्त्रीले खोप आपूर्तिसहित महामारीबाट पार पाउन नेपालको प्रयासमा भारतको निरन्तर साथ र सहयोग रहने आश्वासन दिनुभयो । गोरखापत्र

Facebook Comments