Wed. Apr 22nd, 2026

अमेरिकी राष्ट्रपतिद्वारा घरेलु स्तरमै उत्पादन हुने बन्दुक लक्षित कार्यकारी आदेश जारी

       

काठमाडौं, २०७७ चैत २७ गते शुक्रबार दर्ता नभएकाले पत्ता लगाउन नसकिने भन्दै राष्ट्रपति जो बाइडनले अमेरिकामा “गोस्ट गन” भनेर चिनिने घरेलु रूपमै उत्पादन हुने बन्दुक प्रयोग रोक्न लक्षित निर्देशन जारी गर्नु भएको छ । “बन्दुकबाट हुने हिंसा यो देशमा महामारी हो र अन्तर्राष्ट्रिय स्तरमै यो लज्जाको विषय हो,”उहाँले बिहीवार भन्नु भयो।

बाइडनले नयाँ निर्देशन कार्यकारी आदेश मार्फत् लागु गराउँदै हुनुहुन्छ जसको अर्थ कङ्ग्रेसले यसलाई स्वीकृत गर्न जरुरी छैन। नयाँ आदेशमा निश्चित बन्दुकहरूबारे नियम तय गर्ने, पृष्ठभूमिबारे जाँच बढाउने र स्थानीय रूपमा हिंसा हुनबाट रोक्ने जस्ता विषयवस्तु समावेश गरिएको छ।

हतियार राख्न पाउने अधिकार अमेरिकी संविधानको दोस्रो संशोधनले सुनिश्चित गरेको छ र कैयौँ मानिसहरूले बन्दुक नियन्त्रण सम्बन्धी कानुन आफ्नो संवैधानिक अधिकार माथिको उल्लङ्घनका रूपमा हेर्ने गरेका छन्। बुधवार साउथ क्यारोलाइनामा भएको गोली प्रहारमा पाँच जनाको मृत्यु भएको थियो। घटनामा एकजना पूर्व एनएफएल खेलाडी फीलीप एडम्स जिम्मेदार रहेको बताइएको छ।

त्यस्तै मार्च महिनामा पनि अमेरिकामा दुईवटा बन्दुक आक्रमण भएका थिए जसमा कुल १८ जनाको मृत्यु भएको थियो। बिबिसी

Facebook Comments