प्रधान सेनापति सिग्देल र बेलायती सेनाप्रमुख वाकरबीच भेटवार्ता, सैनिक सहकार्यबारे छलफल
- बेलायती सेनाका प्रमुख जनरल सर रोली वाकरसँग भेटवार्ता ।
- नेपाल-बेलायत सैनिक सम्बन्ध र आपसी हितबारे छलफल ।
- गोर्खा सैनिक स्मारकमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली ।
भिओके समाचार/काठमाण्डू । प्रधान सेनापति महारथी अशोकराज सिग्देलले बेलायत भ्रमणका क्रममा बेलायती सेनाका प्रमुख (Chief of the General Staff) जनरल सर रोली वाकरसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
बेलायती सेनाका प्रमुख जनरल वाकरको निमन्त्रणामा यही असोज १९ गतेदेखि बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति सिग्देलले असोज २१ गते बेलायती सेनाको मुख्यालय पुगेर जनरल वाकरसँग भेटवार्ता गर्नुभएको नेपाली सेनाले जनाएको छ ।
भेटवार्ताका क्रममा नेपाल र बेलायतबीचको आपसी हित तथा सैनिक सम्बन्धका विषयमा छलफल भएको थियो । नेपाली सेना र बेलायती सेनाबीच लामो समयदेखि रहँदै आएको सैनिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत भेटवार्ता केन्द्रित रहेको जनाइएको छ ।
यसअघि भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेलायती रक्षा मन्त्रालयअन्तर्गतका उच्च अधिकारीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । उहाँले बेलायती रक्षा मन्त्रालयका डेपुटी चिफ अफ डिफेन्स स्टाफ फर मिलिटरी, स्ट्राटेजी एन्ड अपरेसन तथा मिनिस्टर फर भेटेरन्स एन्ड पिपुलका संसदीय उपसचिवसँग भेटवार्ता गर्नुभएको थियो ।
भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले गोर्खा सैनिक स्मारकमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलीसमेत व्यक्त गर्नुभएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाली सेनाका अनुसार प्रधान सेनापति सिग्देलको बेलायत भ्रमणले नेपाल-बेलायतबीचको सैनिक सम्बन्ध र आपसी सहकार्यलाई थप मजबुत बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।

