Thu. May 9th, 2024

कोरोना भाइरसको नयाँ प्रजातिको नेपालमा पुष्टि

Ministry-of-Health

काठमाडौं, २०७७ माघ ५ गते सोमबार

नेपालमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा परीक्षण गर्दा उनीहरूमा नयाँ प्रकारको कोरोना भाइरसको सङ्क्रमण भएको पाइएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै त्यसको पुष्टि गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमद्वारा जारी विज्ञप्तिमा बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको उल्लेख गरिएको छ ।

गत पुस पहिलो साता बेलायतबाट फर्केका मध्ये ६ जनालाई निगरानीमा राखी उनीहरूको स्वाब परीक्षण गर्न पुस २७ गते हङकङ प्रयोगशाला पठाइएको र आज इमेलबाट रिपोर्ट प्राप्त भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

नयाँ कोरोना देखिएकामा दुई पुरुष र एक महिला छन् ।

मन्त्रालयका अनुसार २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा रिपोर्ट नेगेटिभ आइसकेको छ र ६७ वर्षीय पुरुषमा पोजेटिभ देखिए पनि अझै कुनै लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जबसम्म नेपालमा कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध हुँदैन, तबसम्म सावधानी अपनाउन आग्रह समेत  गरेको छ । रेडियो नेपाल

Facebook Comments