Sat. May 18th, 2024

भूमिहीन सुकुम्बासीलाई चैतबाट लालपूर्जा वितरण गर्ने योजना

काठमाडौं, २०७७ पुस १२ गते आईतबार

भूमि सम्बन्धी समस्या समाधान आयोगले चैतबाट भूमिहीन तथा सुकुम्बासीलाई लालपूर्जा वितरण सुरु गर्ने तयारी गरेको छ ।

पहिलो चरणमा सम्झौता गरेका १४ स्थानीय तहमा चैतदेखि लालपूर्जा वितरण गर्ने लक्ष्य रहेको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले बताउनु भयो ।

ज्ञवालीका अनुसार पहिलो चरणमा आयोगले सम्झौता गरेका १४ स्थानीय तहमा फागुनसम्ममा तथ्यांक संकलन तथा जग्गाको नापजाँच गरिसक्ने र चैतबाट लालपूर्जा वितरण गर्ने लक्ष्य छ । ‘जटिल प्रकृतिका समस्या देखिए त्यसलाई क्रमशः समाधान गर्दै जाने तर सहजरूपमा हुने कामलाई नरोकी चैतबाट क्रमशः पूर्जा वितरणको काम थालनी गर्ने योजना छ,’ अध्यक्ष ज्ञवालीले भन्नु भयो ।

देशको पछिल्लो राजनीतिक परिस्थितिले आयोगको काममा कुनै असर नपर्ने उहाँले बताउनु भयो । आयोग कानूनी आधारमा टेकेर गठन भएको भन्दै उहाँले विगतमा बनेका आयोगजस्तो समस्या नआउने दाबी गर्नुभयो ।

अनलाईन खवरका अनुसार आयोगले आवश्यक नियमावली, कार्यविधि बनाउँदै अगाडि बढेको भन्दै उहाँले आयोग लालपूर्जा वितरणको काममा सफल हुनेसमेत बताउनु भयो । ‘आयोग असफल हुने कुरै छैन, यसले काम गर्छ,’ अध्यक्ष ज्ञवालीले भन्नु भयो ।, ‘आयोगलाई असफल हुने दिइने छैन, यसका लागि कसैले बाधा पुर्याउनु हुँदैन ।’

Facebook Comments