Thu. Apr 25th, 2024

भुक्तानीको मिति तोकिए उखु किसानको आन्दोलन फिर्ता

काठमाडौं, २०७७ पुस २ गते बिहीबार

चिनी उद्योगलाई बिक्री गरेको उखुको रकम भुक्तानीको माग गर्दै काठमाडौंमा आन्दोलनरत किसानले दुई शर्त पूरा भए विरोधका कार्यक्रम फिर्ता लिने जनाएका छन् ।

उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रका अनुसार सरकारी कोषबाट किसानलाई भुक्तानी दिने र पछि उद्योगबाट असूल गर्ने पहिलो विकल्प उनीहरूले सरकारलाई दिएका छन् । यसबाहेक दोस्रो विकल्पका रूपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी उद्योगीबाट यति दिनभित्र रकम उपलब्ध गराउने भन्ने लिखित प्रतिबद्धता प्राप्त भए पनि उनीहरूले आन्दोलन फिर्ता लिने जनाएका छन् ।

किसानले प्रधानमन्त्री राहत कोष अथवा अन्य कुनै सरकारी कोषबाट किसानको रकम भुक्तानी गर्न सुझाएका छन् । मन्त्रालयले मंगलबार नै किसानलाई वार्ताको लागि बोलाए पनि किसान भने सरकारले पटकपटक भुक्याएको भन्दै वार्तामा गएका छैनन् ।

कारोबार दैनिकका अनुसार दुईवटा शर्त बिहीबार मन्त्रालयलाई लिखित रूपमा बुझाउन लागेको संघर्ष समितिका संरक्षक राकेश मिश्रले जानकारी दिए । दुई सर्तमा एउटा पूरा गरेपछि मात्र आन्दोलन फिर्ता लिने उहाँको भनाइ छ । “हामीलाई सरकारले धेरै पटक झुक्याइसक्यो, यसपटक भने यी दुई शर्त पूरा गरेपछि मात्र आन्दोलन फिर्ता गर्छाै,” उहाँले भन्नुभयो । उखुको रकम भुक्तानी नपाएसम्म आफूहरू सडकमै बसेर आन्दोलन गर्ने उनको भनाइ छ । “परिणाममुखी भएमात्र सरकारसँग वार्तामा बस्छौं,” उहाँले भन्नुभयो । तीन वर्षअघिदेखिको उखुको रकम चिनी मिलले भुक्तानी नगरेपछि गत आइतबारदेखि किसानहरू राजधानीमा आन्दोलनमा छन् । विभिन्न जिल्लाबाट ऋण काढेर दुई सय किसान उखुको रकम भुक्तानी लिनका लागि राजधानीमा आएर आन्दोलन गरिरहेका छन् ।

उद्योग मन्त्रालयले गत वर्ष गरेको सहमति पूरा नगरेको र किसानले भुक्तानी नपाएको भन्दै आन्दोलनमा उत्रेका हुन्  । उद्योग मन्त्रालयले भने किसानको रकम भुक्तानी गराउने कामको जिम्मा गृहमन्त्रालयले दिएको बताएको छ । सरकारको चौतर्फी विरोध भएपछि मंगलबार गृह मन्त्रालयमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि विकासमन्त्री घनश्याम भुसाल र संघीय मामिला तथा स्थानीय विकासमन्त्री हृदयेश त्रिपाठी बैठकमा सहभागी हुनुुहुन्थ्यो । गृहमा भएको छलफलमा उद्योगीलाई पुनः पक्राउ गर्ने निर्णय भएको थियो । गृहले बक्यौता रकम भुक्तानी नगर्ने इन्दिरा, लुम्बिनी, अन्नपूर्ण र श्रीराम सुगर मिलका सञ्चालकलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइएको जानकारी दिएको छ । तर, किसानले भने उद्योगी प्रक्राउ हुनेमा आफूहरू विश्वस्त नभएको बताए ।

उखुको रकम भुक्तानी नगर्ने चिनी उद्योगीलाई पक्राउ गरी रकम भुक्तानी गराउन मन्त्रालयले निर्देशन दिइसकेको छ । किसानले चिनी मिलबाट तिन वर्ष अघिको उखुको मूल्य पाएका छैनन् । चिनी मिलले ९० करोड रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको किसानको भनाइ छ ।

मन्त्रालयका अनुसार नवलपरासीको लुम्बिनी चिनी उद्योग प्रालिले ८ करोड ४१ लाख ४१ हजार ५८६ रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । नवलपरासीमा रहेको इन्द्रिरा सुगर एण्ड एग्रो इन्डष्ट्रिजले ४ करोड ७० लाख रूपैयाँ भुक्तानी गर्न बाँकी छ भने सर्लाहीमा रहेको अन्नपैर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज प्रालिले १७ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी छ । रौतहटमा रहेको श्रीराम सुगर मिल्सले पनि २६ करोड ७७ लाख ७८ हजार ६ सय रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

Facebook Comments