पोखरामा दोस्रो नेपाल-चीन मैत्रीपूर्ण ड्रागन वोट रेस आयोजना हुने नेपाल
भिओके समाचार/काठमाण्डू, २०८१ पुस ७ गते आइतबार । चीन र सिंगापुरका २० टीमको सहभागिता रहने नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यकासाथ गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका , नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन वोट एशोसिएशन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एशोसिएशनको सह-आयोजनामा पर्यटकीय राजधानी पोखरामा दोस्रो नेपाल-चीन मैत्रिपूर्ण ड्रागन वोट रेस आयोजना हुने भएको छ ।
२०८१ पुस १४ र १५ गते (२९-३० डिसेम्बर २०२४) आयोजना हुन लागेको ड्रागन वोट प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका ११, चीनका ८ र सिंगापुरका एक गरी २० वटा समूहको सहभागिता रहने आइतवार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइइको छ ।
२ सय मिटर र ५ सय मिटर दुरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीयले १ हजार २०० सय डलर पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी, सहभागी बाँकी १७ वटा समूहलाई प्रति समुह पाँच सय डलर पनि प्रदान गरिनेछ । ड्रागन वोटको दोस्रो संस्करण पनि फेवातालमै हुनेछ । चीन सरकारकै अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन वोट फेस्टिवल पटक सफलतापूर्वक आयोजना गरिएको थियो ।
चीनले यस खालका प्रतियोगिता विश्वका ५० वटा देशमा आयोजना गर्ने गरेको छ । सो अवसरमा बोल्दै नेपालका लागि चिनीया राजदुतावासमा डेप्टी चप्फ अफ मिशन वाङ सिनले प्रतियोगिताले नेपाल र चीनका नागरिकबीच सुमधुर सम्बन्ध स्थापित हुनाको साथै नेपालको पर्यटन प्रर्वद्धन हुने अपेक्षा राखिएको बताउनु भयो । उहाँले नेपालको पर्यटन प्रर्वद्धन गर्न चीन सधैं सकारात्मक रहेको उल्लेख गर्नु भयो । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले चीन नेपालको प्रमुख पर्यटकीय स्रोत बजार पनि भएको उल्लेख गर्दै ड्रागन वोट रेसले पोखराको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताउनु भयो । उहाँले ड्रागन वोट रेसले पोखराको पर्यटनमा नयाँ आर्कषण समेत थपेको बताउनु भयो । चिनियाँले मनाउने यस पर्वलाई सन् २००९ देखि युनेस्कोले मानवताको अमूर्त सांस्कृतिक सम्पदा मानेको छ ।
चीनमा प्रचलित लुनार क्यालेण्डरको पाँचौं महिनाको पाँच गते चीनमा ड्रागन बोट फेष्टिभल आयोजना हुन्छ । चीनका विभिन्न प्रान्तमा ३ देखि ७ दिनसम्म यस चाड मनाउने परम्परा रहेको छ । यस चाड मनाउन चीन सरकारले सार्वजनिक विदा दिएको हुन्छ । चीनमा बालबालिकादेखि बुढाबुढीसम्मले हर्षोल्लासपूर्वक यस चाड मनाउने गर्दछन् । चिनियाँ भाषामा ‘डुआन्वु जी’ भनिने ड्रागन बोट फेष्टिभल चीनको चार वटा ठूला चाडमध्ये एक हो ।
चीनमा ड्रागनलाई सकारात्मक शक्तिको रूपमा लिइने गरिन्छ । सन् २०१९ मा चीनबाट १ लाख ६९ हजार ५३४ जना र २०२३ मा ६० हजार ८७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२४ को जनवरी देखि नोवेम्बरसम्म ९२ हजार ८४८ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।