Fri. Apr 26th, 2024

उच्च अदालत दिपायलद्वारा रेशम चौधरी र लक्ष्मण थारूसहित ८ जनालाई जन्मकैदको फैसला

काठमाडौं, २०७७ पुस ३ गते शुक्रबार

उच्च अदालत दिपायलले रेशम चौधरी र लक्ष्मण थारूसहित ८ जनालाई जन्मकैदको फैसला सनाएको छ ।

टीकापुर घटनामा संलग्न रेशमलाल चौधरी र लक्ष्मण थारु सहित ८ जनालाई उच्च अदालत दिपायलका वरिष्ठ न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सीताराम मण्डलको इजलासले बिहीबार जन्मकैदको फैसला गरेको हो ।

२०७२ साल भदौ ७ गते टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको थियो । सोही घटनाको योजना बनाई नेतृत्व गरेको आरोपमा यसअघि रेशम चौधरी समेत ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो । उच्च अदालतले तीमध्ये ७ जनाको सजाय सदर गरेको छ भने चार जनाको सजाय घटाएको छ ।

यसअघि तीन वर्ष जेल सजाय तोकिएका लक्ष्मण थारूलाई उच्च अदालतले जन्मकैदको सजाय सुनाएको छ । कान्तिपुर अनलाईनका अनुसार जन्मकैदको सजाय हुनेमा लक्ष्मण, रेशम, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी छन् । सुन्दरलाल कठरिया, बृजमोहन चौधरी, राजेश चौधरी र राजकुमार कठरियाका हकमा जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय तोकेकामा उच्च अदालत दिपायलले त्यसलाई बदर गरी ५ वर्ष मात्र कैद गर्न आदेश दिएको छ ।

त्यसैगरी संगम चौधरी, दिलबहादुर चौधरी र जितबहादुर चौधरीलाई १० वर्ष कैदको सजाय तोकिएको छ । कैलाली जिल्ला अदालतले उनीहरूलाई ३ वर्ष जेल सजाय तोकेको थियो । उनीहरूले हातहतियारसहित टीकापुर घटनामा गएको बयान अदालतमा स्विकारेका थिए ।

चौधरीलाई थुनामै रहेको समयमा विसं २०७५ पुस १९ गते सांसद पदको शपथ ग्रहण गराइएको थियो ।

घटनामा संलग्न रहेका रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रेमबहादुर चौधरीको हकमा भने यसअघि तीन वर्ष कैद सजाय तोकिएकामा उच्च अदालतले ५ वर्ष कैद सजाय तोकेको छ ।

Facebook Comments