Sun. Apr 28th, 2024

आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं, २०७७ असोज ७ गते बुधबार

कीर्तिमानी आरोही आङरिता शेर्पाको बुधबार बिहान राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बुधबार बिहान काठमाडौंको टेकु दोभानमा बौद्ध परम्पराअनुसार उहाँको अन्त्येष्टि गरिएको हो ।

शेर्पाको पार्थिव शरीरमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो भने सशस्त्र प्रहरीको एक टुकडीले शेर्पाप्रति सलामी अर्पण गरेको थियो ।

कान्तिपुर अनलाईनका अनुसार सगरमाथा शिखर आरोहणमा जीवनकालमै किंवदन्तीझैं बन्नु भएका आरोही आङरिता शेर्पाको सोमबार ७२ वर्षको उमेरमा काठमाडौंमा निधन भएको थियो  । बोतलको अक्सिजनबिना १० पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्नुभएका शेर्पाको बिहान १० बजे कपनस्थित छोरी डोमाको घरमा निधन भएको हो ।

आङरिता २००५ सालमा सोलुखुम्बुको हिलाजुङ (हाल पासाङल्हामु गाउँपालिका-थामे) मा जन्मिनु भएको थियो ।

‘हिउँचितुवा’ का नामले विश्वभर कहलिनु भएका उहाँले नेपालका ८ हजार मिटर अग्ला सबै हिमाल बोतलको अक्सिजनबिना आरोहण गरेर कीर्तिमान बनाउनु भएको थियो । उहाँले पाकिस्तानको केटु हिमाल पनि आरोहण गर्नुभएको थियो । सन् १९८३ देखि १९९६ सम्ममा १० पटक बोतलको अक्सिजनबिना सगरमाथा आरोहण गरेपछि उहाँको कीर्ति विश्वसामु फैलिएको थियो ।

Facebook Comments