२०८३ भाद्र ९, मंगलवार

उपराष्ट्रपति यादव भन्नुहुन्छ : अटोमोबाइल क्षेत्र अर्थतन्त्रको मेरुदण्ड

       

काठमाण्डू । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भइसकेको बताउनुभएको छ । उहाँले आज ‘नाडा अटो शो २०२६’ को १८औँ संस्करण उद्घाटन गर्दै अटोमोबाइल क्षेत्रले नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । उपराष्ट्रपति यादवले जलविद्युत्मा धनी नेपालले पेट्रोलियम पदार्थको आयात घटाउँदै विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

जलविद्युत् उत्पादन बढिरहेको अवस्थामा इन्धन आयातमा अर्बौं रुपैयाँ बाहिरिने अवस्था अन्त्य गर्न विद्युतीय सवारीसाधन उत्तम विकल्प भएको उहाँको भनाइ थियो । उहाँले उद्यमशीलता सिर्जना गर्न नाडा अटो शोले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपालमै अटोमोबाइल उत्पादन आवश्यक रहेको बताउनुभयो । नेपाली अटोमोबाइल क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसहित वातावरणमैत्री र प्रविधिमैत्री पूर्वाधार विकासमा सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने उहाँले बताउनुभयो ।

चार्जिङ स्टेसनलगायत पूर्वाधार विस्तारमा जोड दिँदै उपराष्ट्रपति यादवले अटो शोले नेपाली अटोमोबाइल बजारलाई चलायमान बनाउँदै आन्तरिक उत्पादन र रोजगारी सिर्जनामा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले व्यवसायीको मनोबल बढाउने गरी सरकारले कार्यक्रम तर्जुमा गर्नुपर्ने बताउनुभयो । गत वर्ष अटोमोबाइल क्षेत्रले राज्यलाई ८१ अर्ब रुपैयाँ राजस्व योगदान गरेको जानकारी दिँदै उहाँले कुल राजस्वको करिब आठदेखि नौ प्रतिशत हिस्सा ओगट्ने क्षेत्रलाई विलासिताको वस्तुका रूपमा मात्र हेर्न नहुने बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले आयातमा मात्र निर्भर नभई स्वदेशमै सवारीसाधन तथा पार्टपुर्जाको एसेम्बलिङ र उत्पादन सुरु गर्नुपर्नेमा जोड दिनुभयो । उत्पादनमूलक क्षेत्रको विकासमार्फत युवाका लागि रोजगारी सिर्जना गर्नुपर्ने उहाँको भनाइ थियो ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालमा ठूला प्रदर्शनी आयोजना गर्न उपयुक्त पूर्वाधारको अभाव रहेको बताउनुभयो । जनसङ्ख्या र आर्थिक गतिविधि बढे पनि प्रदर्शनी केन्द्रको विकास हुन नसकेको उल्लेख गर्दै उहाँले भृकुटीमण्डपमा ट्रक, बस र ठूला उपकरण प्रदर्शन गर्न पर्याप्त ठाउँ नभएकाले काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष उप्रेतीले अटोमोबाइल क्षेत्रलाई सवारीसाधनको व्यापारका रूपमा मात्र नहेरी यसको बृहत् आर्थिक प्रभाव बुझ्न सरकारसँग आग्रह गर्नुभयो । विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै चार्जिङ पूर्वाधार र नेपालमै एसेम्बल उद्योग विकासका लागि नीतिगत स्पष्टता र सहुलियत आवश्यक रहेको उहाँले बताउनुभयो ।

नाडा स्थापना भएको ५० वर्षको अवसरमा ‘उद्योगदेखि रोजगारसम्म’ भन्ने मूल नाराका साथ सुरु भएको मेला भदौ २४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । रासस

Facebook Comments