२०८३ आश्विन ५, सोमवार

ओमानबाट नेपाली श्रमिकलाई सरकारी खर्चमा ल्याइँदै

       

काठमाडौं, २०७७ साउन १९ गते सोमबार

ओमानमा रहेको नेपाली दूतावासले नेपाल सरकारको कार्यविधिअनुसार प्राथमिकतामा परेका नागरिकलाई सरकारी खर्चमा पठाउने तयारी गरेको छ । दूतावासले विज्ञप्तिमार्फत ओमानमा समस्यामा परी पैसा नभएकै कारण स्वदेश फर्किन नपाएका नेपाली श्रमिकलाई कारणसहित दूतावाससमक्ष निवेदन दिन आग्रह गरेको छ ।

दूतावासका अनुसार टिकट काट्ने पैसा नभएर स्वदेश फर्किन नसकेका श्रमिकलाई दूतावासको हटलाइन वा इमेलमार्फत आवेदन दर्ता गराउनुपर्ने छ । कोरोनाका कारण बेरोजगार भएका तथा कम्पनीले कुनै पनि सहयोग गर्न नसक्ने अवस्थामा भएका र आफैँ टिकट किनेर घर फर्कन नसक्ने नेपाली श्रमिकले दूतावासको ढाँचाअनुसार आवेदन भरेर बुझाउन अनुरोध गरिएको छ ।

सरकारले विदेशमा अलपत्र परेका, रोजगारदाताले सहयोग नगरेका, आफैँ टिकट काटेर फर्कन नसक्ने नेपालीको वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी निःशुल्क उद्धार गर्ने निर्णय गरिसकेको छ । त्यसका लागि सरकारले छुट्टै निर्देशिकासमेत तयार गरेर दूतावासमा पठाइसकेको छ । निर्देशिकाको मापदण्डमा पर्ने श्रमिकलाई अब दूतावासको समन्वयमा निःशुल्क उद्धार हुनेछ ।

यस्तै ओमानमा समस्यामा रहेर घर फर्कनै पर्ने अवस्थामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि साउन ३० वा अगस्ट १४ मा चौथो उडान हुने जनाइएको छ । यो उडानमार्फत स्वदेश फिर्तीका लागि प्राथमिकतामा परेका १८० जना नेपालीको नाम दूतावासले सार्वजनिक गरेको छ । यो उडान पनि ओमानबाट सलाम एयरले भर्नेछ ।

ओमानमा रहेको नेपाली दूतावासको समन्वयमा सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा सलाम एयरले यसअघि तीन उडानमार्फत नेपाली ल्याइसकेको छ । प्राथमिकतामा परेकाले आफूलाई पायक पर्ने ठाउँमा कोरोनाको पीसीआर परीक्षण गरेर टिकट काट्नसमेत दूतावासले आग्रह गरेको छ ।  गोरखापत्र अनलाईनबाट

Facebook Comments