संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान
तेहरान । इरानले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभा (यूएनजीए) अधिवेशनमा सहभागी हुनु आफ्नो ‘कानुनी अधिकार’ भएको दाबी गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले शनिबार राज्य सञ्चालित टेलिभिजन आईआरआईबीसँगको अन्तर्वार्तामा न्यूयोर्कमा हुने महासभा अधिवेशनमा इरानको सहभागिता कुनै देशले प्रदान गर्ने सुविधा वा अनुग्रह नभएको बताउनुभएको हो ।
“न्यूयोर्कमा उपस्थित हुनु इरानी प्रतिनिधिका लागि विशेष आकर्षणको विषय होइन । तर यो त्यस्तो महत्वपूर्ण मञ्च हो, जसलाई हामीले छाड्नु हुँदैन,” बघाईले भन्नुभयो । उहाँका अनुसार महासभामा सहभागी हुनु इरानको कानुनी अधिकार हो । उहाँले इरान संयुक्त राष्ट्रसंघका ५० संस्थापक सदस्य राष्ट्रमध्ये एक रहेको पनि उल्लेख गर्नुभयो ।
बघाईले इरानी प्रतिनिधिमण्डललाई महासभामा सहभागी हुनबाट रोक्न ‘अर्को पक्ष’ ले विभिन्न उपाय अपनाइरहेको आरोप लगाए । यस्तो ‘अवरोध र नकारात्मक प्रचार’ले इरानलाई महासभामा आफ्नो धारणा राख्ने अधिकारबाट पछि हट्न बाध्य नपार्ने उहाँले बताउनुभयो । उहाँले महासभामा सहभागी भएर इरानी जनताको धारणा र देशको अडान अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्नु आफूहरुको दायित्व भएको समेत बताउनुभयो ।
यसैबिच, अमेरिकी विदेश मन्त्रालयले बिहीबार इरानको ‘मुख्य प्रतिनिधिमण्डल’ लाई यूएनजीएमा सहभागी हुन भिसा जारी गर्ने जनाएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार यो निर्णय संयुक्त राष्ट्रसंघको आयोजक राष्ट्रका रूपमा अमेरिकाको दायित्व अनुसार गरिएको हो । अमेरिकी पक्षले यस वर्षको इरानी प्रतिनिधिमण्डल गत वर्षको तुलनामा सानो हुने जनाएको छ । सिन्ह्वा

