Sat. Apr 27th, 2024

थप ४१८ जनामा कोरोना सङ्क्रमण, कुल २० हजार ७५०

- प्रदेश १ का मुख्य न्यायाधिवक्तालाई कोरोना संक्रमण

काठमाडौं, २०७७ साउन १९ गते सोमबार

कोरोनाभाइरसका ४१८ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या २० हजार ७५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गोरखापत्र अनलाईनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा नेपालमा पाँच हजार ७३२ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार ६३७ जनाको स्वाब परीक्षण गरिएको छ । हालसम्म तीन लाख ९८ हजार ९०७ जनाको आर टी पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हाल दश हजार ४५२ जना क्वारेन्टिनमा छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा ३५८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यो सँगै हालसम्म १४ हजार ९६१ जना सङ्क्रमित कोरोनामुक्त भइसकेका छन् ।

कोरोना सङ्क्रमणबाट ५७ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा सङ्क्रमणबाट मृत्युको घटना दत्र्ता गरिएको छैन् ।

विराटनगरमा काेराेना भाइरसका कारण थप एकजनाको मृत्यु

कोशी अस्पताल विराटनगरमा एकजना वृद्ध पुरुषको मृत्यु भएको छ । विराटनगर-५ निवासी ७७ वर्षीय पुरुषको सोमबार मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाका अनुसार विहान स्वास्थ्य समस्या देखिएर अस्पतालमा भर्ना भएका बृद्धको दिउँसो मृत्यु भएको थियो ।

कोशी अस्पताल आईसोलेशन वार्डका प्रमुख डा.लक्ष्मीनारायण यादवका अनुसार १० बजे उपचारका लागि भर्ना भएका विरामीको स्वास्सप्रस्वासमा समस्या देखिएको थियो । सामान्य ज्वरो समेत देखिएपछि स्वाब संकलन गरेर परीक्षण गर्दा पोजेटिभ आएको हो । अस्पतालमा भर्ना हुँदाताका अक्सिजनको मात्रा ६५ मात्रै मापन गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको हो । यस अगाडी मोरङको सुनवर्षी नगरपालिका-८ का ४५ वर्षीय पुरुषको समेत मृत्यु भएको थियो ।

यससँगै प्रदेश १ का २ जनासहित प्रदेश १ मा चारजनाको मृत्यु भएको छ । यस अघि वीपीमा उपचाकार लागि भर्ना भएका प्रदेश २ का दुईजना र मोरङ सुनवर्षीका पुरुषको मृत्यु भएको थियो ।

प्रदेश १ का मुख्य न्यायाधिवक्तालाई कोरोना संक्रमण

प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यमा कोरोना संक्रमण देखिएको छ । विराटनगरमै रहेका उनलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने ‘हिस्ट्री’ खुलेको छैन ।

अनलाईन खवरका अनुसार विराटनगर-५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका तीनजना सदस्यलाई कोरोना पोजेटिभ देखिएको छ ।

मुख्य न्यायायाधिवक्ता आचार्यलाई १०/१२ दिनअघि दुई दिनजति सामान्य ज्वरो आएको थियो । आइतबार उनीसहित उनका घरका सदस्यको कोरोना जाँच गर्दा परिवारका तीनजना सदस्यको रिपोर्ट पोजेटिभ आएको हो । तीनैजनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी छ ।

आचार्यले अनलाइनखबरसँग भने, ‘मलाई १०/१२ दिन अगाडि दुई दिनजति सामान्य ज्वरो आएको थियो । सिटामोल खाएपछि ठीक भएको थियो । संक्रमण भएको हो कि भनेर अरुलाई नसरोस् भनी घरमै आइसोलेसनमा बसिराखेको थिएँ ।’

अहिले आफू र परिवारका सदस्यहरुको अवस्था सामान्य रहेको आचार्यले बताए ।

आचार्यलाई कहाँबाट संक्रमण भयो भन्ने खुलेको छैन । उनी नियमितरुपमा कार्यलयको काम र बैठकहरुमा सहभागी थिए ।

बैठकहरुका क्रममा सुरक्षाकर्मी वा अरु कसैबाट कोरोना सरेको हुन सक्ने आचार्यको अनुमान छ । उनी भन्छन्, ‘विभिन्न ठाउँहरुमा मिटिङहरु गरिरहनुपर्ने हुन्छ । प्रायःजसो सेक्युरिटीवालाहरुलाई, पुलिसहरुलाई देखिएको छ । पुलिसहरु वरिपरि हुन्छन्, हिँड्दाखेरि सिँढीको रेलिङहरु समातिन्छ । ढोकाहरु खोल्नुपर्‍यो, कुर्सीहरुमा बसिन्छ ।’

प्रदेश सरकारका मुख्य न्यायाधिवक्तालाई नै कोरोना देखिएपछि मुख्यमन्त्री, मन्त्री र प्रदेश सरकारका कर्मचारीहरु सतर्क बनेका छन् ।

आचार्यलाई कोरोना कहाँबाट सरेको हो भन्ने ट्राभल हिस्ट्री पत्ता नलागेका कारण समुदायस्तरमा कोरोना संक्रमणको स्पष्ट संकेत देखिएको छ । र, यो घटनाले अब भीआईपीहरु पनि असुरक्षित रहेको संकेत गरेको छ ।

Facebook Comments