रसुवा-भोटेकोसी बाढीमा सम्पर्कविहीन ११ जनाको शव फेला
- अडिट-३ टनेलको जालीमा अल्झिएका ११ शव फेला ।
- हिलोमा दबिएको अवस्थामा शव उद्धार ।
- सम्पर्कविहीनको खोजी कार्य अझै जारी ।
भिओके समाचार/काठमाण्डू । रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजीका क्रममा ११ वटा शव फेला परेका छन् ।
नेपाली सेना तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिट-३ टनेलको जालीभित्र अल्झिएको तथा हिलोमा दबिएको अवस्थामा ११ वटा शव फेला पारेको हो ।
फेला परेका सबै ११ शव आज उद्धार गरी टनेलबाट बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ ।
भोटेकोसीमा आएको बाढीका कारण माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका केही व्यक्ति सम्पर्कविहीन भएपछि उनीहरूको खोजी तथा उद्धारका लागि संयुक्त टोली परिचालन गरिएको थियो ।
सम्पर्कविहीन अन्य व्यक्तिको अवस्थाबारे जानकारी लिन थप खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।

