Fri. Sep 20th, 2024

राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्न नपाइने

काठमाडौं, २०७७ असार ५ गते शुक्रबार

सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि गरेको लकडाउनको अवधिमा राति हिँडडुल गर्न नपाइने भएको छ।

गृह मन्त्रालयले शुक्रबार जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ अनुसार अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाइएको हो।

२०७६ चैत ११ गतेदेखि सुरु भएको लकडाउन असार १ गतेदेखि केही खुकुलो भएपछि गृहमन्त्रालयले अनावश्यक हिँडडुल गर्नेमाथि कडाई गर्ने निर्णय गरेको हो।

अन्नपूर्ण पोष्ट दैनिक अनलाईनका अनुसार गृहको सुरक्षा मापदण्डमा विवाह, व्रतबन्ध, मृत्यु संस्कार जस्ता कार्यमा १५ जनाभन्दा बढीलाई भेलामा प्रतिबन्ध लगाइएको छ। सुरक्षा मापदण्डमा उद्योगमा काम गर्दा एक पटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने उल्लेख गरिएको छ।

गृहले सकेसम्म घरभित्रै बस्न र अत्यावश्यक काम नपरेसम्म हिँडडुल नगर्न भनेको छ।

कार्यस्थलमा रहँदा वा हिँडडुल गर्दा न्यूनतम दुई मिटरको सामाजिक दूरी कायम गर्न समेत मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले सुरक्षामा खटिएका सुरक्षाकर्मीलाईसमेत उच्च सर्तकता अपनाएर काम गर्न निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार शुक्रबार मात्र ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या आठ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा २१६ जना डिस्चार्ज भएका छन्। प्रवक्ता गौतमका अनुसार योसँगै डिस्चार्ज हुनेको संख्या १४ सय २ पुगेको छ। संक्रमित जिल्लाको संख्या ७४ पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ६१ हजार ७ सय ५९ र आरडीटी विधिबाट दुई लाख ४७ हजार ८ सय ७४ जनाको नमुना परीक्षण गरिएको छ।

अहिले क्वारेन्टाइनमा एक लाख ९ हजार चार सय ६१ जनालाई राखिएको छ। मन्त्रालयका अनुसार ६ हजार आठ सय ५० जनाको आइसोलेसनमा उपचार भइराखेको छ।  २२ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन्।

Facebook Comments