क्रिकेट विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि प्रतियोगिता
नेपाल राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका क्रममा । फाइल तस्बिरः
- डिसेम्बर ४ देखि २१ सम्म नेपालमा प्रतियोगिता आयोजना हुने ।
- आठ टोली सहभागी हुने, शीर्ष चार टोली विश्वकप छनोटमा पुग्ने ।
- प्रतियोगिताका कारण नेपाल र भारत ‘ए’ बीचको शृङ्खला प्रभावित ।
काठमाण्डू । आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो ।
प्रतियोगितामा आइसिसी विश्वकप लिग-२ का अन्तिम चार टोली तथा आइसिसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ‘ए’ र ‘बी’का शीर्ष दुई-दुई टोली सहभागी हुनेछन् । प्रतियोगितामा कुल आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको शीर्ष चारमा स्थान हासिल गर्ने टोली सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन् । नेपालले लगातार दोस्रोपटक एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउने अवसर पाएको छ ।
यसैबीच, छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीचको क्रिकेट शृङ्खला पूर्वनिर्धारित तालिकाअनुसार नहुने भएको छ ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसीआई) र क्यानबीचको आपसी समन्वय तथा सहमतिमा नेपाल र भारत ‘ए’ बीचको नयाँ खेल तालिका तय गरिने क्यानका सचिव पारस खड्काले जानकारी दिनुभयो । रासस

