Fri. Sep 20th, 2024

चिनियाँ कम्युनिस्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा नेकपासँग भिडियोमा छलफल

काठमाडौं, २०७७ असार ५ गते शुक्रबार

चिनियाँ कम्युनिस्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा नेपालको सत्तारुढ नेकपा र चीनका सय बढी नेता आज जुन १९ तारिख भिडियो छलफलमा जुट्दै छन्।

नेकपा स्कुल विभागका उपप्रमुख बेदुराम भुसालले चिनियाँ पक्षको चाहनाअनुसार नै यस्तो अन्तरक्रिया राखिएको बताउनु भएको नेपाल खबर अनलाइनले लेखेको छ।’चिनियाँ कम्युनिस्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग र नेकपाको स्कुल विभागले संयुक्त रुपमा यो भर्चुअल मिटिङ राखिएको हो’भुसालले भन्नुभयो, ‘चिनियाँ पक्षबाट नै शुभकामना आदानप्रदान गरौं भनेपछि यो अन्तरक्रिया राखेका हौं, सुरुमा अध्यक्ष प्रचण्डले जुमबाट चिनियाँ कम्युनिष्ट पार्टीलाई ९९ वर्ष पूरा गरेकोमा शुभकामना दिनुहुनेछ।’

चिनियाँ कम्युनिष्ट पार्टीको पहलमा सत्तारुढ नेकपाका नेताहरू यसरी अन्तरक्रियामा जुटन लागेको यो दोस्रो पटक हो। करिब आठ महिनाअघि चीनका राष्ट्राध्यक्ष तथा कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङको नेपाल भ्रमणअघि पहिलो पटक काठमाडौंमा यस्तो अन्तरक्रिया भएको थियो।

त्यही बेला नेकपा र चिकपाको विदेश विभागबीच आदानप्रदान र अन्तरक्रियाका योजनाहरू समेटिएको ६ बुँदे सम्झौता पनि भएको थियो। सम्झौता अनुसार यो वर्ष नेकपाका सबै ४५ सय केन्द्रीय सदस्यहरूलाई चीन भ्रमण गराउने योजना थियो, जुन कोरोना महामारीका कारण सम्भव भएन।

भुसालका अनुसार कोरोना महामारीले निम्त्याएको संकटका कारण आज शुक्रबारको अन्तरक्रिया भिडियोमा हुँदैछ। जसमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टी स्कुल विभाग प्रमुख तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायत नेपालबाट सय बढी सहभागी हुनुहुनेछ।

भुसाल लगायतका केही नेताहरू काठमाडौं धुम्बाराहीस्थित पार्टी कार्यालय र सातै प्रदेशमा रहेका नेताहरू जुमबाटै अन्तरक्रियामा जोडिने छन्। आजको अन्तरक्रियामा कोभिड –१९ को लडाइँमा चीनको अनुभव, सुशासन र भ्रष्टचार नियन्त्रणका अनुभव आदानप्रदान हुनेछ। ‘चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका पदाधिकारी सहित छलफल हुनेछ, उनीहरुले अहिलेसम्मको पार्टी सञ्चालन प्रक्रियाबारे जानकारी दिनेछन्’, भुसालले थप्नुभयो।

चिनियाँ पक्षबाट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ थाओ लगायतका नेताहरू सहभागी हुनुहुनेछ। अन्तरक्रिया करिब २ बजे सुरु हुने उहाँले बताउनुभयो।

पहिलो पटक काठमाडौंमा भएको दुई कम्युनिष्ट पार्टीबीचको अन्तरक्रियामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली, प्रचण्ड र चीनको तर्फबाट सोङ थाओले सम्बोधन गर्नु भएको थियो।

Facebook Comments