अमेरिकी सहायक विदेशमन्त्री लु काठमाण्डौंमा
काठमाण्डौं, २०७९ साउन १२ गते बिहीबार । संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउनुभएको छ । उहाँ आज साँझ काठमाण्डौं आइपुग्नुभएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।
यसअघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिसक्नुभएका उहाँले यो पटकको भ्रमणमा विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल-अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी गर्नुहुने दूतावासले जनाएको छ ।
साथै उहाँले दुई देशको आर्थिक विकासप्रतिको प्रतिबद्धता, लोकतन्त्र तथा मानवाधिकारका विषयमा पनि कुराकानी गर्नुहुनेछ । दक्षिण एशियाली मामिलाका सबैभन्दा उच्च तहका अमेरिकी कूटनीतिज्ञका रुपमा विविध विषयमा छलफलका लागि उहाँले यस क्षेत्रको भ्रमण गर्नुभएको हो । सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्नुका साथै काठमाण्डौंमा हुने एक अवार्ड वितरण कार्यक्रममा सहभागी हुनुहुने बुझिएको छ । रासस