२०८३ भाद्र २२, सोमवार

राष्ट्रपति पौडेलद्वारा बाढी प्रभावित क्षेत्र रसुवाको निरीक्षण   

यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीले प्रभावित रसुवाको विभिन्न क्षेत्र अवलोकन गर्न आज रसुवा आउनुभएका राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिरः सरस्वती न्यौपाने/रासस

       

रसुवा ।  राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवास्थित भोटेकोशी बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ ।

उहाँले रसुवागढी, टिम्मुरे, घट्टेखोला, स्याफ्रुबँेसी, हाकुबँेसी, मैलुङ, कैदलटार, पैहे्रबँेसी, बेत्रावती तथा माथिल्लो त्रिशूली थ्री ‘ए’ र ‘बी’लगायत बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभयो ।

अवलोकनपछि राष्ट्रपति पौडेलले सदरमुकाम धुन्चेमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे तथा नेपाली सेनाको छ नम्बर वाहिनीपति उज्ज्वल विक्रम राणासँग प्रभावित क्षेत्रमा भइरहेको खोजी, उद्धार र राहतका कार्यका विषयमा जानकारी लिनुभयो ।

त्यस क्रममा उहाँले खोजी, उद्धार र राहतका कार्यक्रमलाई थप प्रभावकारीसहित निरन्तरता दिन निर्देशन दिनुभएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो ।
यसैबीच, रसुवा बाढीपछि जिल्लाका विभिन्न क्षेत्रबाट १६९ वटा शव सङ्कलन गरी व्यवस्थापनका लागि नुवाकोटमा पठाइएको जानकारी दिइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दू्रवप्रसाद आचार्यका अनुसार, जिल्लाबाट उद्धार गरिएका एक हजार ८५ जनालाई नुवाकोटको विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ । बाढीमा परी जिल्लाका हालसम्म एक हजार ३६५ स्थानीय, अन्य ठाउँका एक हजार १६०, विदेशी पर्यटक २६४, बङ्ैकका कर्मचारी २६, सरकारी कर्मचारी ७९, नेपाली सेना २७, नेपाल प्रहरी २८ र सशस्त्र प्रहरी बलका १३ जना सकल दर्जा सम्पर्कविहीन छन् ।

उक्त बाढीले जिल्ला ११ वटा विद्यालय, २८ वटा सरकारी तथा सार्वजनिक भवन, एक हजार ५०० निजी घर, १५ वटा बैंक, एउटा पेट्रोल पम्प, आठ वटा जलविद्युत् आयोजना, ६ वटा पक्की पुल, आठ वटा बेलीब्रिज, १० वटा झोलुङ्गे पुल र ४१ किमी सडक पूर्ण रुपमा क्षति भएको थियो । घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । रासस

Facebook Comments