धनुषामा १९७.४४० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
भिओके समाचार/जनकपुर । लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर र ब्यूरोको शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले धनुषाबाट १९७.४४० ग्राम अवैध लागु औषध (खैरो हेरोइन) सहित दुई जनालाई पक्राउ गरेको छ।
भदौ २२ गते धनुषाको मिथिला नगरपालिका वडा नं. २ बाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य मधुवनी ठेगाना भएका २७ वर्षीय संजित कुमार राम र धनुषाको सबैला नगरपालिका वडा नं. १० ठेगाना भएका २६ वर्षीय राकेश राम रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले भारतको मधुवनीबाट खैरो हेरोइन खरिद तथा संकलन गरी ल्याई मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा बिक्री वितरण गर्ने गरेका थिए।
नेपाल प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट १९७.४४० ग्राम खैरो हेरोइन र २ थान मोबाइल बरामद गरिएको छ। आवश्यक अनुसन्धान तथा कारबाहीका लागि दुवै जनालाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगर, धनुषामा बुझाइएको लागु औषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले जानकारी दिनुभएको छ।


