Mon. Apr 29th, 2024

एसपीपी सम्झौता नगर्न सरकारलाई संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन

काठमाण्डौं, २०७९ असार ३ गते शुक्रबार । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिले एसपीपी सम्झौताबारे बाहिर आएको विवादास्पद विषयमा नेपाल सरकारको स्पष्ट धारणा निर्णयको रुपमा आउनुपर्ने र एसपीपी कार्यक्रममा नेपाल सहभागी नहुने  भनी अमेरिकी सरकारलाई औपचारिक रुपमा तत्काल जानकारी गराउन नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज सिंहदरबारमा बसेको बैठकले त्यस्तो निर्देशन दिएको हो । बैठकमा परराष्ट्र मन्त्री डा.नारायण खड्काले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)सँग सम्बन्धित सैन्य सम्झौता प्रस्ताव अगाडि नबढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ  ।

परराष्ट्र मन्त्री खड्काले एसपिपीसँग सम्बन्धित सैन्य सम्झौता प्रस्ताव नेपाललाई स्वीकार्य नहुने भन्नुहुँदै नेपाली सेना र अन्य सम्बन्धित पक्षहरूसँग छलफल गरी नेपाल एसपिपीको सदस्य नरहेको भनी अमेरिकी सरकारलाई पत्राचार गरिने पनि जानकारी गराउनुभयो ।उहाँले अमेरिका भ्रमणका लागि प्रधानमन्त्रीलाई निम्ता आएको र उहाँले उपयुक्त समयमा अमेरिकाको भ्रमण गर्ने जानकारी पनि दिनुभयो ।

बैठकमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पार्नुभयो । अमेरिकाको एउटा राज्यले नेपालको प्राकृतिक विपद्मा मानवीय सहायता ल्याउने हिसाबले पत्र लेखिएको जानकारी गराउनुहुँदै प्रधानसेनापति शर्माले उक्त पत्र नेपाल सरकारको परराष्ट्र नीति विपरीत नलेखिएको  बैठकलाई जानकारी गराउनुभयो ।

बैठकमा प्रधानसेनापति शर्माले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरूलाई भनिसकेको जानकारी पनि गराउनुभयो  ।प्रधानसेनापति शर्माले अमेरिकासँग सैन्य सहकार्य अमान्य हुने त्यस प्रकारको सम्झौता  भए  पनि नेपाली सेनाले अस्वीकार गर्ने बताउनुभयो ।

बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको उत्तरी सीमा क्षेत्रमा अमेरिकी सेनासँग संयुक्त सैन्य अभ्यास हुन नसक्ने बताउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले कुनै पनि मुलुकको दबाब स्वीकार्य नहुने र आफ्नो दल एकीकृत समाजवादी पार्टी राष्ट्रियताको हित र सुरक्षा संवेदनशीलताको हिसाबमा दृढतापूर्वक उभिने स्पष्ट पार्नुभयो ।

त्यस्तै, बैठकमा पूर्व परराष्ट्र मन्त्रीहरू, प्रदीपकुमार ज्ञवाली र सुजाता कोइराला, पूर्व रक्षा मन्त्री ईश्वर पोखरले, डा.भिमबहादुर रावल, सांसदहरू, प्रकाशमान सिंह, पुष्पा भुसाल, नारदमुनी राना, सरलाकुमारी यादव, सुरेन्द्रकुमार कार्की, मोहन बानिया, रेनुका गुरुङलगायतले नेपाल स्वतन्त्र परराष्ट्र नीतिप्रति अडिग रहनुपर्नेमा जोड दिनुहुँदै  एसपिपी कहाँबाट कसरी अगाडि बढाइयो भनी सत्य तथ्य बाहिर ल्याउन एक छानबिन समिति बनाउनुपर्नेमा जोड दिनुभयो । रेडियो नेपाल

Facebook Comments