Wed. Dec 25th, 2024

बालकोट हत्या प्रकरण : बुबा र भाइको हत्या गरेको स्वीकार   

भक्तपुर, २०८१ पुस ९ गते मंगलबार । सूर्यविनायक नगरपालिका-२ बालकोट फिकाधारास्थित भाडाको घरमा कोठाभित्र मृत फेला परेका ५६ वर्षीय कुलप्रसाद आचार्य र उहाँका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्यको हत्या कुलप्रसादकै जेठो छोरा रुपेशले गरेको पाइएको छ । पक्राउपछि रुपेशले बुबा र भाइको हत्या आफूले गरेको प्रहरीसमक्ष स्वीकारेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ घर भई हाल जिल्ला हुलाक कार्यालय खोटाङमा निमित्त कार्यालय प्रमुख रहेका कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रवीणको गत शनिबार राति हत्या भएको थियो । हत्यापछि फरार रहेका रुपेशलाई प्रहरीले आज महाराजगञ्जबाट पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार पक्राउ परेका रुपेशसँग बयान लिने कार्य जारी रहेको छ । उनलाई भक्तपुर प्रहरी परिसर पठाएको उहाँले बताउनुभयो । “प्रारम्भिक अनुन्धान र बयान क्रममा बुबा र भाइको हत्या कुलप्रसादकै जेठा छोरा रुपेशले नै गरेको पाइएको छ । बुबा र भाइबाट आफूमाथि तनाव बढेकाले हत्या गरेको उनले स्वीकार गरेका छन् । यसबारे थप अनुसन्धान भइरहेको छ”, प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले भन्नुभयो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार बुबा र भाइको शनिबार राति हत्या गरेपछि आइतबार बिहान कोठामा ताल्चा लगाएर रुपेश स्कुटरमा फरार भएका थिए । जिल्ला प्रहरी परिसर भक्तपुरले आजै उनीमाथि कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख आचार्य गत मङ्सिर २८ गते बिदा लिएर छोराहरु बस्दै आएको स्थान बालकोट आएका थिए ।

प्रहरी अनुसन्धानमा प्रवीण कुलतमा फसेको, बाबुले पनि डिप्रेशनको औषधि खाने गरेकाले आफूलाई तनाव बढ्दै गएपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ । प्रहरीसँग बयानको क्रममा मिलनले यसअघि बुवा र आमाको हत्या प्रयास गरेको बयान दिएका छन् ।गत दशैंमा दुवैलाई मार्ने योजना बनाए पनि असफल भएको उनको भनाइ छ।

हत्यापछि म भक्तपुरकै बिरुवा गएँ । गलबन्दीको पासो लगाएर रुखमा झुन्डिएँ । तर गलबन्दीको गाँठो फुस्कियो । भगवानले मलाई ‘नमर’ भनेजस्तो लाग्यो । बुवा र भाइ मरेपछि मैले आमाको रेखदेख गर्नुपर्छ भन्ने सोचेँ – भन्दै प्रहरीमा बयान दिएका छन् । उनको घाँटीमा समेत पासोको दाग रहेको प्रहरीको भनाई छ ।
हुलाकका निमित्त कार्यालय प्रमुख आचार्य खोटाङबाट ६ दिनअघि मात्रै जेठा छोरा मिलन र कान्छा छोरा प्रवीण बसिरहेको भक्तपुरको बालकोटमा रहेको भाडाको घरमा आउनु भएको थियो ।

बाबु कुलप्रसाद र प्रवीणको शव छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिएको थियो । कुलप्रसादको हत्या पछि सिरक ओढाएर छोडिएको र भान्छा कोठामा सुतेका प्रवीणको भने बीभत्स तरिकाले टाउँकोमा सिलौटाको बच्चोले पटक पटक प्रहार गरी अनुहारनै चिन्नै नसकिने अवस्थामा छाडिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । शनिवार बिहानदेखि कोठाबाहिरबाट बन्द थियो। सोमबारसम्म पनि ढोका नखुलेपछि प्रहरी बोलाएर सोमबार खोल्दा दुई जनाको शव भेटिएको हो।

शनिवार साँझ मासु भात पकाएर बाबुलाई खाना खान बोलाएका मिलनले पारिवारिक विवादकै कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । दुईभाई छोरा मध्ये जेठा छोरा मिलन बिए पास गरेर लोकसेवाको तयारी गर्दै गरेको र कान्छो प्रवीण भने अमेरिका जाने तयारीमा सूचना प्रबिधि विषयमा अध्ययन गरिरहेको पारिवारिक श्रोतले बताएको न्यूज अफ नेपालले लेखेको छ। बाबुछोराको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको र आजै परिवारले प्रहरी वृत्त थिमिमा जाहेरी दिएका छन् ।

कुलप्रसादका दुई छोरा र दुई छोरी मध्ये जेठी छोरी लुभुमा श्रीमानसँग हुनुुहुन्छ भने कान्छी छोरी तिहार लगत्तै अध्ययनका लागि अस्ट्रेलिया जानु भएको थियो । रासस

Facebook Comments