Thu. Apr 25th, 2024

प्रधानमन्त्रीद्वारा व्यावहारिक र जीवनोपयोगी शिक्षामा जोड

- सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह

कञ्चनपुर, २०७९ असार ३ गते शुक्रबार । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यावहारिक र जीवनोपयोगी शिक्षामा जोड दिनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै कुलपति समेत रहनुभएका प्रधानमन्त्री देउवाले विश्व विद्यालयको शिक्षा केवल औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यावहारिक, जीवनोपयोगी तथा समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्ने बताउनुभयो ।

उहाँले मुलुकको लोकतान्त्रिक प्रणालीलाई थप सबल र सुदृढ बनाउन र मुलुकको अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवम् प्राविधिक जनशक्तिको आवश्यकता औँल्याउनुभयो ।

नेपालको संविधानले समेत शिक्षा सम्बन्धी हकलाई मौलिक हकको रूपमा स्थापित गरेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले उक्त हकलाई कार्यान्वयन गर्न सबैले प्रतिबद्ध भई काम गर्नु आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै, सुदूरपश्चिम विश्वविद्यालयका सहकुलपति एवं नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षा नीति र विश्वविद्यालयहरूले रोजगारीका लागि विदेशिनु पर्ने अवस्थाको अन्त्य गर्ने योजनाहरू अगाडि बढाउनु पर्नेमा जोड दिनुभएको छ ।

विश्वविद्यालय स्थापनाको एक दशकभन्दा बढी समय बितिसकेको अवस्थामा सुदूरपश्चिम विश्वविद्यालयले नेपालको उच्च शिक्षाको विकासमा प्रशंसनीय भूमिका निर्वाह गरिरहेको उहाँले बताउनुभयो ।

सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहका प्रमुख अतिथि समेत रहनु भएका भारतको कुमाउँ विश्वविद्यालयका कुलपति नरेन्द्र कुमार जोशीले विद्यार्थीहरूले डिग्री कमाउनको लागि सबै प्रयासहरू गरे पनि उक्त यात्रामा सहयोग गर्नेहरूको प्रयासलाई पनि मान्यता दिनु महत्त्वपूर्ण रहेको छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.अम्मराज जोशीले आउँदो डिसेम्बरमा सुदूरपश्चिम बारे ज्ञान निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले विश्वविद्यालयका भौतिक संरचना निर्माणका कार्य तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्नुभएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको आज आयोजित दोस्रो दीक्षान्त समारोहमा दीक्षित हुन योग्य विद्यार्थी सङ्ख्या १ हजार ५ सय ५८ जना मध्ये ३ सय १८ जना मात्र प्रत्यक्ष सहभागी भएका छन् ।

गत फागुन २७ गते नै दीक्षान्त समारोह आयोजना गर्ने तयारी गरिए पनि कोरोना महामारीका कारण हुन नसकेको र आगामी वर्षहरूमा प्रत्येक वर्ष फागुन २७ गते उक्त कार्यक्रमको आयोजना गरिने विश्वविद्यालयले जनाएको छ । रासस

Facebook Comments