चिनियाँ विदेशमन्त्री वाङ यी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाण्डौं, २०७८ चैत १३ गते आईतबार । नेपालको भ्रमणमा रहनु भएका चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री र ओलीबीच नक्सालस्थित होटल मेरियटमा भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले बेल्ट एन्ड रोड अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन विदेशमन्त्री वाङ यीलाई आग्रह गर्नुभएको छ ।
एमाले नेता राजन भट्टराईले आज आइतवार भएको भेटवार्ताका क्रममा कोरोनाका कारण प्रभावित भएका चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनका क्रममा रहेका नेपाली विद्यार्थीलाई सहज रूपमा फर्कने वातावरण बनाइदिन आफूहरूले आग्रह गरेको जानकारी दिनुभयो ।
कोरोना कहरका समयमा चीन सरकारका तर्फबाट नेपाललाई उपलब्ध गराइएको सहयोगप्रति एमालेले धन्यवाद दिएको थियो । तातोपानी र रसुवागढी नाकाको नियमित सञ्चालनका लागि एमालेले चिनियाँ विदेशमन्त्री वाङलाई आग्रह गरेको थियो । एमालेले गरेको आग्रहलाई विदेशमन्त्री वाङले सकारात्मक रूपमा लिँदै नेपालको विकास र समृद्धिका लागि सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभएको थियो ।
बीआरलगायतका परियोजनासँग जोडिएका विषयलाई अगाडि बढाउन र त्यसलाई नियमित गर्न चीन सरकारका तर्फबाट सहयोग रहने विदेशमन्त्री वाङको भनाइ थियो । भेटवार्तामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत नेताको सहभागिता थियो ।